पैसा दोब्बर हुने उपाय सिकाएर २ लाख बढी रकम ठगी गर्ने विराटनगरका मुखिया पक्राउ

झापा । आफूसँग भएको पैसा दोब्बर हुने झुठा उपाय सिकाएर ठगी गर्ने एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ अशोक चोकका ३५ वर्षीय चन्दन कुमार मुखिया छन्। उनले स्थानीय ३१ वर्षीय राज कुमार रायलाई पैसा दोब्बर हुने झुठा उपाय सिकाएर दुई लाख २० हजार ठगी गरेको प्रहरीले जनाएको छ।
मुखियाले उक्त रकम आफूले राखेर कागजको पोको बनाई दुई वटा केमिकल र सिरिन्जसमेत दिएर २४ घण्टामा यो पोकोमा केमिकल सिरिन्जबाट हाने पैसा दोब्बर हुन्छ भनेर ठगी गरेको प्रहरीले जनाएको छ।
उनले एक बाल्टिन चोखो पानी ल्याउन लगाएर दुई वटा कागजको पोको भित्र पैसा राखेको जस्तो गरेर फरार भएको प्रहरीले जनाएको छ। सोमबार नियन्त्रणमा लिई उनीमाथि ठगी कसूरमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ। गत चैत २० गते भएको सो घटनाबारे प्रहरीमा उजुरी परे पनि उनलाई सोमबार मात्रै पक्राउ गरिएको हो।