२०८३ बैशाख ३ गते , विहीबार

भद्रपुरमा जग्गा बाँझो राखे सामाजिक अपराध

sajilo news
पार्थ मण्डल
२०७८ असार २५ गते , शुक्रबार
भद्रपुरमा जग्गा बाँझो राखे सामाजिक अपराध

झापा । झापाका अधिकांश स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रम र बजेट पास गरेका छन् । निर्वाचित भएर आएको चार वर्ष उपलब्धि मूलक भएको निष्कर्षसहित आफ्नो कार्यकालको अन्तिम वर्षको नीति तथा कार्यक्रम र बजेट पालिकाका जनप्रतिनिधिहरूले पास गरेका हुन ।

यसैक्रममा भद्रपुर नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा एउटा यस्तो विषय रहेको छ जसले बाँझो जमिन राख्छ उ सामाजिक अपराधी ठहर्ने छ । बाँझो जमिन राख्नेलाई सामाजिक अपराधी मानेर कारबाही गर्ने नीति नगर सभाबाट सर्वसम्मत रूपमा सोमबार पास भएको छ । यसको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिइएको छ । नगर प्रमुख जीवनकुमार श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार खेत बाँझो राखेमा अब जरिवाना पनि तोकिएको छ । “कृषियोग्य जमिन बाँझो राख्नुलाई सामाजिक अपराधका रूपमा लिई जग्गा बाँझो राख्ने व्यक्तिलाई प्रति बिगाहा पाँच सय जरिवाना गरिनेछ र यसको अनुगमन तथा नियमन वडा समितिमार्फत गरिनेछ ।” नगरपालिकाले नगर क्षेत्रभित्र कति जग्गा बाँझो रहेको छ भन्ने आजसम्म तथ्याङ्क भने निकालेको छैन ।

वैदेशिक रोजगारका कारण कृषि मजदुर अभाव हुने र घर गाउँमा ज्येष्ठ नागरिक मात्र हुने गरेकाले धेरै नै जग्गा बाँझो रहने गरेको बताइन्छ । यस्तो अवस्थामा यो नीति कार्यान्वयनका लागि वडा कार्यालयलाई अधिकार दिइने जनाइएको छ । यसैगरी भद्रपुर नगरपालिकाले व्यावसायिक कृषि उत्पादनका लागि कृषक समूह, कृषि फर्म, कृषि सहकारी, नमुना कृषि पाठशाला तथा वैदेशिक रोजगारीबाट फर्केका युवाहरूको संयुक्त प्रयासलाई प्रोत्साहन गर्न आयोजना प्रस्तावनाको आधारमा कृषि ऋणमा ब्याज अनुदान दिने पनि नीति तथा कार्यक्रम ल्याएको छ । “कृषि ऋणमा लाग्ने ब्याज अनुदानका लागि कार्यविधि बनाई व्यावसायिक कृषि उत्पादनलाई प्रोत्साहन गरिनेछ ।” नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।

नगरपालिकाले पशुलाई चाहिने दाना उत्पादन गर्ने नयाँ उद्योग नगरभित्र स्थापना गरेमा तीन वर्षसम्म व्यावसायिक करमा छुट दिइने पनि नगर प्रमुख श्रेष्ठले बताए ।कृषि तथा पशु सेवाको क्षेत्रमा नगरपालिकालाई पूर्ण सक्षम बनाउन मध्यम स्तरीय जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षालयहरूसँग सम्झौता गरी नगरभित्रको प्रतिभावान् तथा जेहेन्दार गरिब तथा पछाडि परेका समुदायका विद्यार्थीलाई निःशुल्क प्राविधिक विषय पढाउनेसमेत नगरपालिकाले योजना ल्याएको छ। गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार