दमक नगरपालिकाले नगर क्षेत्रभित्र कार्यरत पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने
झापा । दमक नगरपालिकाले आफ्नो क्षेत्रमा कार्यरत पत्रकारहरूको स्वास्थ्य बिमा गरिदिने भएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै नगरपालिका क्षेत्रमा स्थापना भई सञ्चालनमा रहेका सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको स्वास्थ्य बिमा गरिदिने उल्लेख गरेको छ ।
नगरपालिकाले ज्येष्ठ नागरिकका अनुभवलाई अभिलेखीकरण गर्ने अभ्यास समेत सुरु गर्ने र यसमा स्थानीय सञ्चारकर्मीहरूको भूमिका महत्त्वपूर्ण हुने जनाएको छ । यसलाई ‘अन्तर पुस्ता सञ्चार’ नाम दिइएको उपप्रमुख गीता अधिकारीले बताइन् ।
यसै गरी पत्रकारिता प्रवर्धनका लागि दमकमा ‘पत्रकारिता अध्ययन अनुसन्धान केन्द्र’ स्थापना गर्नेदेखि सञ्चारमाध्यमलाई मासिक रूपमै आर्थिक सहयोग गर्ने समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
साथै खोजमूलक पत्रकारिता प्रवर्धनका लागि तालिम, अवलोकन भ्रमण जस्ता प्याकेज अब दमकमा कार्यरत पत्रकारले पाउने छन् । ‘व्यावसायिक पत्रकारिताको विकास र प्रवर्धनका लागि पत्रकारको क्षमता विकास र भौतिक पूर्वाधारको निर्माण दुवैमा नगरपालिकाको साथ रहनेछ’ उपप्रमुख अधिकारीले भनिन् ।
नगरपालिकाबाट सञ्चालन भएका काम, नगरपालिकासँग सम्बन्धित आफूलाई चाहिएको जानकारी लिन नगरपालिकाले ‘जनतासँग सरकार’ भन्ने एप्स सञ्चालनमा ल्याएको छ । सो एप्सलाई थप प्रभावकारी बनाइने नगरपालिकाले जनाएको छ ।
सङ्घीय सरकार सामु पटक पटक उठेर कार्यान्वयनमा आउन नसकेको विषयलाई पनि दमक नगरपालिकाले कार्यान्वयनमा ल्याउने भएको छ । नगरपालिकाले नगरका सञ्चारमाध्यमलाई सशक्त बनाउन समानुपातिक विज्ञान नीति अँगाल्ने भएको छ ।
‘यसका लागि नगरपालिकाले तत्कालै सूचना तथा विज्ञापन सम्बन्धी नीति बनाउने छ’ उपप्रमुख अधिकारीले भनिन्। दमकका पत्रकारहरूको संस्था पत्रकार मञ्च दमकलाई भवन बनाउन जग्गा र बजेटको व्यवस्था गरिने प्रतिबद्धता पनि नीति कार्यक्रममा छ ।