कोरोना महामारीकाबीच भारतमा विधानसभाको मतगणना सुरु
काठमाडौं । भारतका विभिन्न राज्यमा कोरोना महामारीकाबीच भएको विधानसभा निर्वाचनको आज मतगणना सुरु भएको छ। गत महिना विभिन्न चरणमा चार राज्य र एक केन्द्र शासित प्रदेशमा कुल ८ सय २२ विधानसभा सिटका लागि मतदान भएको थियो। मतगणनाको नतिजा भोलि बिहानसम्म आइसक्ने जनाइएको छ।
भारतमा कोरोना महामारीको गम्भीर संकट उत्पन्न भइरहेका बेला हजारौँ कोरोना संक्रमित उपचार नपाएर छट्काइरहेको अवस्था छ। कोरोना महामारीको दोस्रो लहर चलिरहेका बेला निर्वाचन गराएको भन्दै भारतीय निर्वाचन आयोगको चर्को आलोचना भइरहेको छ। मद्रास उच्च अदालतले त निर्वाचन आयोगले राजनीतिक सभा र र्याली गर्न दिएको भन्दै कोरोना फैलाउनुमा आयोग नै जिम्मेवार रहेको बताइसकेको छ।
अदालतले निर्वाचन आयोगविरूद्ध हत्याको मुद्दा दर्ता हुनुपर्ने समेत बताएको थियो। पश्चिम बंगालमा २७ देखि २९ अप्रिलको बीचमा आठ चरणमा निर्वाचन भएको थियो। त्यहाँ भारतीय जनता पार्टी र तृणमुल कांग्रेसले आक्रामक रुपमा चुनाव प्रचार गरेका थिए।
ममता बनर्जी तेस्रो पटक सत्तामा जान तम्तयार भएकी छन्। यही समयमा भारतमा दैनिक साढे ३ देखि ४ लाखसम्म संक्रमित थपिइरहेका छन् भने ३ देखि ४ हजारको हाराहारीमा दैनिक मृत्यु भइरहेको छ।