काँग्रेस नेता देउमान थेबेलाई पितृ शोक
झापा । नेपाली काँग्रेस झापाका पूर्व उपसभापति तथा भातृ सङ्घसंस्था समन्वय विभाग प्रमुख देउमान थेबेलाई पितृ शोक परेको छ । उनका बुबा प्रजातान्त्रिक आन्दोलनका अगुवा कृतिमान थेबेको ९५ वर्षको उमेरमा निधन भएको हो । २०१२ सालदेखि काँग्रेस प्रवेश गरी प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेका कृतिमान थेबेको कनकाई–३ स्थित निजी निवासमा आज अपराह्न ३ः३० बजे निधन भएको हो ।
कृतिमान नेपाली काँग्रेस ताप्लेजुङका तत्कालीन कोषाध्यक्ष समेत रहेका कृतिमान २०२० सालदेखि पञ्चायतमा प्रवेश गरी ताप्लेजुङ जिल्लाको साबिक आम्बेगुदिन गाविसका तीन कार्यकाल प्रधानपञ्चको जिम्मेवारी निर्वाह गरेका उनी २०८४ साल साउन १० गते जन्मिएका थिए । तीन कार्यकालसम्म साबिक आम्बेगुदिन तथा हाल सिरिजंगा गाउँपालिका ताप्लेजुङको तीन कार्यकालसम्म निरन्तर प्रधानपञ्च भई गाउँको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
थेबे २०३८ सालमा आफ्नो पैतृक थाकथलो छाडेर झापा जिल्लाको साबिक टाँगनडुब्बा ९झापा गाउँपालिका–१० सितुबाडीमा सपरिवार बसाई आएका थिए । झापा आएपश्चात् पुनः नेपाली काँग्रेसको क्रियाशील सदस्यता लिएर प्रजातान्त्रिक आन्दोलनमा सक्रिय हुनुभएका थेबेको बुढ्यौलीका कारण निधन भएको उनका छोरा देउमान थेबेले जानकारी दिए । पछिल्लो समय कनकाई–३ सुरुङ्गा बजारनजिकै बसोबास गर्दै आएका थेबेको सोही स्थानमा निधन भएको हो ।
यसअघि नै दुई छोराहरू पूर्णकुमार र तिलविक्रम तथा बुहारी डम्बरकुमारी र श्रीमती दधिमाया र जेठी छोरी विष्णुमायालाई गुमाइसकेका कृतिमानको वैशाख ९ गते दिनको १२ बजे कनकाई माईमा अन्तिम दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।
मृतक थेबेका छोरा देउमान थेबे, बुहारीहरू शावित्रा, डम्बरकुमारी र सात जना छोरीहरू रहेका छन् । सात छोरीहरूमा स्व। विष्णुमाया, नरमाया, तारा, विमला, मनमाया, हेमा, र सीता रहेका छन् । प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा नेपाली काँग्रेस झापाका पूर्व उपसभापति तथा भातृ सङ्घसंस्था समन्वय विभाग प्रमुख देउमान थेबेलाई परेको पितृ शोकप्रति नेपाली काँग्रेस झापाले गहिरो शोक व्यक्त गरेको छ । नेपाली काँग्रेस झापाका सभापति उद्धव थापाले एक शोक वक्तव्य जारी गर्दै थेबेको निधनले प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको जनाएका छन् ।
कृतिमानको अन्त्येष्टिका लागि नेपाली काँग्रेसका केन्द्रीय नेताहरु कृष्ण प्रसाद सिटौला, केशवकुमार बुढाथोकी, सुधीरकुमार सिवाकोटी लिदिप राई सहितका नेता आउने भएका छन् ।