हावाहुरीले सशस्त्रको भद्रपुर बिओपीमा क्षति
झापा । शुक्रवार राती पानीसँगै आएको हावाहुरीले सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट भद्रपुरमा क्षति पुर्याएको छ । भद्रपुर ५ मेची किनारस्थित मलामी भवनमा रहेको सशस्त्रको अस्थायी बिओपीमा क्षति पुर्याएको बिओपीका प्रहरी निरीक्षक बिभुराज दाहालले जानकारी दिए । हावाहुरीले सशस्त्रको सञ्चार टावर, वाईफाइ टावर, होडिङ बोर्ड, घेराबार लगाएको टिन उडाएको छ । हावाहुरीले करिब २५ हजार मुल्य बराबरको क्षति पुर्याएको उनले बताए ।
त्यस्तै बिओपी तिरीङमा दुई वटा पोलमा क्षति पुर्याएको जनाइएको छ । उता हावाहुरी पूर्व पश्चिम राजमार्ग अन्तरगत कनकाईमा सडकमै रुख ढलेका थिए । ढलेको रुख हटाइएको छ । यता हावाहुरीले विद्युतीय पोल र तार चुँडाएकोले जिल्लाका केही स्थानमा विद्युत् सेवा अवरुद्ध रहेको नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्रले जनाएको छ । अहिले समस्या देखिएका स्थानमा कर्मचारी खटाएर सेवा सुचारु गर्न प्राधिकरण लागि परेको जनाइएको छ । हावाहुरी अन्नबालीमा समेत क्षति पुर्याएको छ । त्यसको यकिन विवरण आइसकेको छैन ।