२०७८ बैशाख २४ गते , शुक्रवार

झापासहित पूर्वी तराईका जिल्लामा यसरी मनाइयो सिरुवा पर्व

झापासहित पूर्वी तराईका जिल्लामा यसरी मनाइयो सिरुवा पर्व :: Times of Pradesh

झापा ।  नयाँ वर्षको सुरुवातसँगै पूर्वी तराईका जिल्लामा बसोबास गर्ने आदिवासी समुदायले सिरुवा पर्व हर्षोल्लासका साथ मनाउँदै छन्। विशेषगरी झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझीलगायतका आदिवासी समुदायले हरेक वर्ष हर्षोल्लासका साथ सिरुवा पर्व मनाउँदै आएका छन्। सिरुवा पर्व तीन दिनसम्म मनाउने चलन छ। 

नयाँ वर्षका वैशाख १ गते पानी सिरुवा, २ गते काद (हिलो)  सिरुवा र ३ गते रङ सिरुवा मनाउने धार्मिक प्रचलन छ। हिजो पानी सिरुवा मनाएका आदिवासी समुदायले आज काद सिरुवा धुमधामका साथ मनाएका छन्। भोलि रङ खेल्दै सिरुवाको विधिवत् रुपमा समापन गर्ने छन्। 

एक आपसमा भ्रातृत्व र बन्धुत्वको सम्बन्धलाई बढाउन शुभकामना आदान–प्रदान गर्दै सामूहिक रुपमा आदिवासी समुदायले यो पर्व मनाउँदै आएको छ। यस समुदायले चैत मसान्तमा विभिन्न प्रकारका सात वटा सागसब्जी मिसाएर पकाएको पक्वान्न वैशाख १ गते खाने प्रचलन छ। सिरुवा पर्वमा ठाकुरविसरी, ठाकुरव्रंहानी, विसहरी, काली देवीदेवताको पूजा अर्चना गर्ने समेतचलन छ। 

यता आदिवासी जनजाति महासंघ गौरादह–८ समितिले बिहीबार काद सिरुवा मनाएका छन्। गौरादह नगरपालिका ८ बैराती महाराजथानमा राखिएको शुभकामना आदानप्रदान तथा सिरूवा विशेष कार्यक्रममा आदिवासी समुदायको ढोलसना नाच, नटुवा नाच, घाट सरी गीत र आधुनिक गीतलगायत विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको आदिवासी जनजाति महासंघ वडा नम्बर ८ का अध्यक्ष गणेश राजवंशीले जानकारी दिए। 

साथै जिल्लाका विभिन्न स्थानीय तहहरूमा पनि काद सिरुवा हर्षोल्लासका साथ मनाइएको छ। राजवंशी विकास प्रतिष्ठान झापाले बिर्तामोड नगपालिका–२ स्थित चैतुवारी सैनिक मोडमा भोलि वैशाख ३ गते रङ सिरुवाको दिन नयाँ वर्षको शुभकामना र सिरुवा उत्सव कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका सचिव तथा पत्रकार इन्द्रसिंह राजवंशीले जानकारी दिए। ​सिरूवा उत्सवसँगै रङ खेल्ने कार्यक्रमको समेत आयोजना गरिएको छ। 

 उनका अनुसार पानी सिरुवा, काद सिरुवा र काद सिरुवा सामूहिक रुपमा खेल्ने गाजीमुरी (चना भुजा) खाने, वोरी (चना दालले बनेको परिकार) खाने कार्यक्रम छ। नेपालबाहेक भारतको आसाम, पश्चिम बङ्गालका विभिन्न जिल्लामा पनि तीन दिनसम्म यो पर्व हर्षोल्लासका साथ मनाउने गरेको स्थानीय पत्रकार आत्माराम राजवंशीले बताए।  

यस्तो छ सिरूवा पर्वको सांस्कृतिक महत्त्व

सिरुवा पावनी (नयाँ वर्ष) तराईमा बस्ने आदिवासी समुदायमध्ये विशेषगरी थारु, राजवंशी, ताजपुरिया, गनगाई,  माझी लगायतले मनाउने सबैभन्दा ठूलो चाड हो। यो पर्व नयाँ वर्षमा बंगला पात्रोअनुसार खास गरी तीन दिनसम्म वैशाख १, २ र ३ गते मनाउने चलन छ। पहिलो दिन पानी सिरुवा, दोस्रो दिन काद (हिलो) सिरुवा र अन्तिम दिन रङ सिरुवा खेल्ने चलन छ। 

सिरुवा पर्वमा कुल देवता, ग्राम देवता अलावा महिला वर्गले घाट सरी पूजा गर्ने चलन छ। सिरुवा पर्वको समयमा झापा, मोरङ र सुनसरीका विभिन्न ठाउँहरूमा मेला लाग्ने परम्परा छ। सिरुवा पर्वमा पानी सिरुवा, काद ९हिलो० सिरुवा, रङ सिरुवाको अलावा घाट सरी, भादाखेली जस्तै अरू पूजाहरू महत्त्वपूर्ण हुने गर्दछन्।  

वैशाखको पहिलो दिन बङ्गला पात्रोअनुसार अन्तिम चैत्रमा आफूभन्दा साना केटाकेटीहरूको टाउकोमा पानी दिएर, ठूलाबडाहरूका पाउमा भक्ति भावले पानी हालेर र साथीभाइसँग एक आपसमा पानी छ्यापाछ्याप गरी वर्षभरिका लागि शरीरलाई ठन्डा, शीतलता मिलोस् भनी आशीर्वाद लिने र कामना गरिन्छ।

साथै उक्त दिन पानी खेलेर आफ्ना शरीरलाई पवित्र गरिन्छ। धामीहरू जङ्गल गएर जडीबुटी खोजी जडीबुटीका बिरुवा जगाउँछन्। मानिसहरू घरमा लसुन प्याज बाँधी झुन्डयाउँछन, मइनाको काँडा, मदारको काँडा, विर्तिको काँडा घरको पछाडि गुन्जी राख्छन्।

यो दिन महिलाहरू साँझमा आ–आफ्नो घरमा सात किसिमका सागहरु मिलाएर सातसागी बइसागी साग पकाउँछन्। यो दिनलाई महा विसुवा सङ्क्रान्ति भन्ने गरिन्छ।

सिरुवा पर्वको दोस्रो दिन काद सिरुवा हो।  मानिसहरू विसुवाको राति (अन्तिम चैतको राति) पकाएको भातलाई पानी हाली पन्ता बनाएर खान्छन्। त्यसैले भनिन्छ, ‟चैतमा पकाएको वैशाखमा खाने”। यसै दिनबाट पन्ता भात खान सुरु गरिन्छ।

यो दिनदेखि हाम्रो समाजका नारीहरू घाट सरी पूजाका रुपमा तिस्ताबुढी नदीमा गई सेलाउँछन्। किम्बदन्ती अनुसार तिस्ताबुढी रुपमा हाम्रो ठाक्रानि ९देवी० साथीहरूसँग मिली ठाकुर ९देउता०लाई खोज्दै जाँदा वस्त्रविहीन हिलो माटो लेपिएको अवस्थामा भेटाउँछन् र सङ्गीहरू आपसमा कानेखुसी गदै हाँस्छन्। अनि ठाक्रानि (देवी) ले तिस्ताबुढीको रूप धारण गरी सङ्गीहरूलाई हिलो माटो लगाइदिन्छिन्। त्यसैले यो दिनमा सबै मानिस आपसमा हिलो खेल्ने खेल्दै काद सिरुवा मनाउँछन्। 

यो दिनको स्मरणमा नारीहरू नदीमा गई तिस्ताबुरि बिर्सजन गरी घाँटोसरि पूजा सकेर फर्कन्छन। अनि घाटबाट फर्कने समयमा छाताको पानी गिलास बटुकामा लिएर घरमा आई घरका छानामा छर्कन्छन्।

यो दिनमा खास गरी घरका देवीदेवताहरूको पूजा गर्ने गरिन्छ। त्यस्तै सिरुवा पावनीको अन्तिम दिन रङ सिरुवा मनाइन्छ। उक्त दिन सबै मानिस एक आपसमा रङ खेलेर पर्व मनाउने गर्छन्। विगतमा भएका रिसरागहरु सबै भुलेर खुसी र हर्षोल्लास उल्लासका साथ खुसी साटासाट गर्न यो दिनमा विभिन्न किसिमका रङ खेल्ने गरिन्छ। जीवन रङहरूले भरिएजस्तै रङीचङ्गी होस भन्ने कामनाका साथ रङ सिरुवा खेल्ने गरिन्छ। 

फूल घोडाको व्यापार बढ्यो 

सिरूवा पर्वको अवसरमा आदिवासी समुदायले ग्रामथानमा चढाइने फूल घोडाको व्यापार बढेको छ। समुदायका राजवंशी, ताजपुरिया, गनगाई, माझीलगायतका जातीहरूका प्रत्येक परिवारले ग्रामथानमा देवतालाई अनिवार्य फूल घोडा चढाउनु पर्ने र बिहेवारिको सिजन समेत नजिकैसँगै झापामा फूल घोडाको व्यापार बढेको हो। 

गौरीगंज गाउँपालिका–३ स्थित बुधवारे बजारमा फूल घोडा बेच्न बसेका जादुराम मालीले चाडपर्व र बिहेको सिजन भएकोले फूल घोडाको बिक्री बढेको बताउँछन्। एक सिजनमा (सिरूवा र बिहेमा) ४० देखि ५० हजार रुपैयाँसम्म फूल घोडा बिक्री गर्छु,' उनले भने, 'त्यस बापत खर्च कटाएर २५ देखि ३० हजार रुपैयाँ नाफा हुन्छ। 

गौरीगंज ४ स्थित अल्तावारी निवासी जादुराम मालीले पनि देवीदेवताहरूलाई चढाउने फूल घोडा, भगवती सठा, मौरा, झरा, भुटिया घर्रा, मजुस नामान खाने अर्थात् भाकल गर्दा चढाउने एक प्रकारको वनस्पतिको फूल, बिहेमा बेहुला र बेहुलीले लगाउने फूल बिक्री गर्दै आइरहेका छन्।

त्यस्तै मोहनदेव मालीले भने, 'यो सिजनमा हामीलाई भ्याई नभ्याई हुन्छ, पर्वका लागि फूल घोडा ,झरा, भुटिया घर्रा र बिहेका लागि पनि उत्तिकै अर्डर आउने गर्छ।

उनी गौरीगंज, खजुरगामी, दामुना, गुवालडुब्बा, गौरादह र बघाहा चौधरीको साप्ताहिक बजारमा फूल घोडा बेच्न जाने गरेको सुनाउँछन्। एक जोडा फूल घोडाको २० रुपैयाँ,  धार्मिक अनुष्ठानमा प्रयोग हुने मजुस ४ सय रुपैयाँ, मौरा ५० रुपैयाँ, भगवती सौँठा २० रुपैयाँ, भुटिया घोडा ५० रुपैयाँ जोडामा बेच्ने गरेको उनले बताए।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment