२०८२ बैशाख १२ गते , शुक्रबार

झापामा विद्यालय सञ्चालन गर्ने स्थानीय तहविरुद्ध समन्वय इकाइमा उजुरी

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र १८ गते , बुधबार
झापामा विद्यालय सञ्चालन गर्ने स्थानीय तहविरुद्ध समन्वय इकाइमा उजुरी

झापा । सरकारको निर्णय विपरीत झापाका केही स्थानीय तहले विद्यालय सञ्चालन गर्न अनुमति दिएका छन् । राजधानीमा वायु प्रदूषण देखिएसँगै बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत १७ देखि २० गतेसम्म चार दिन देशभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो । 
तर, झापाका केही स्थानीय तहले मन्त्रालयको निर्णय उल्लङ्घन गर्दै विद्यालय सञ्चालनको अनुमित दिएपछि शिक्षा, विकास तथा समन्वय इकाई झापामा उजुरी पर्न थालेको छ । मन्त्रालयको निर्णय विपरीत बिर्तामोड नगरपालिकाले मङ्गलवार एक सूचना जारी गर्दै नगरभित्र शैक्षिक संस्था सुचारु गर्ने भनी निर्णय गरेको थियो । 
नगरपालिकाको सोही निर्णयविरुद्ध बिर्तामोडका विद्यालय सञ्चालकविरुद्ध शिक्षा विकास तथा समन्वय इकाई झापामा बुधवार उजुरी परेको छ । 
अभिभावकका तर्फबाट खेमराज ओली,  शिक्षक कर्मचारीका पक्षबाट इच्छाराम निरौलाले बिर्तामोड शिक्षा समिति, प्याब्सन, एन प्याब्सन र विद्यालय सञ्चालक एवम् व्यवस्थापन समितिविरुद्ध उजुरी दिएका हुन । सङ्घीय सरकारको निर्णय नमानेको, बाल बालिकाको स्वास्थ्य जोखिम बढाएको भन्दै कानुनी कारबाही चलाउनु पर्ने माग गर्दै ओली र निरौलाले उजुरी दिएको पत्रमा उल्लेख छ ।  
सरकारको निर्णय कार्यान्वयन गर्न स्थानीय सरकार जिम्मेवार हुनुपर्ने बताउँदै शिक्षा समन्वय अधिकारी राजकुमार विकले भने, मन्त्रालयको नीति, नियम र निर्देशन पालनामा स्थानीय सरकारको कमीकमजोरी देखिएकोले त्यसलाई सच्याउनु पर्छ । त्यस्तै मेचीनगर नगरपालिकाका केही विद्यालयहरू सञ्चालन आएको भन्दै मेचीनगर नगरपालिका ७ निवासी ज्ञानेन्द्र निरौलाले पनि सोमबार शिक्षा विकास तथा समन्वय इकाई झापामा उजुरी दिएका थिए । उनले त्यसको बोधार्थ जिल्ला प्रशासन कार्यालय झापालाई समेत दिएका छन् । 
झापाका १५ वटा स्थानीय तहमध्ये दमक, भद्रपुर, बुद्धशान्ति, अर्जुनधाराले सरकारको निर्णय बमोजिम नै मङ्गलवारदेखि सबै विद्यालय बन्द गरेका छन् । हल्दिबारी, कचनकवल, मेचीनगर, कनकाई, शिवसताक्षी, कमल, बाह्रदशी, झापा गाउँपालिकाका सामुदायिक विद्यालय बन्द भए पनि निजी विद्यालयहरूले आफूखुसी विद्यालय सञ्चालन गरेका छन् । गौरीगञ्ज र गौरदाहमा विद्यालय लागे पनि पठनपाठन बन्द रहेको जनाइएको छ ।
 

सम्बन्धित समाचार