झापा कारागारका महिला कैदीबन्दीलाई आधारभूत सिलाई तालिम
झापा । महिला सुरक्षा सम्मान र रोजगार समृद्ध नेपालको आधार भन्ने मूल नारालाई आत्मा सात गर्दै एवीसी नेपाल झापाले जिल्ला कारागार झापामा रहेका महिला कैदीबन्दीहरुलाई आधारभूत सिलाई तालिम प्रदान गर्ने भएको छ ।
कारागार प्राङ्गणमा विहिवार आयोजित कार्यक्रमका बिच नेपालले सय मिटर बढी कपडा प्रदानसँगै तालिमको उद्घाटन गरिएको हो । तालिमको उद्घाटन गर्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमसिनाले बन्दि महिलाहरूले स्वावलम्बी बनेर समाजको रूपान्तरणमा लाग्नु पर्ने बताए ।
उनले आर्थिक अभावका कारण समाजमा महिलाहरूलाई विभेद गर्ने प्रचलन रहेको बताउँदै तालिमबाट सिकेको कुरालाई व्यवहारमा लाग्न आग्रह समेत गरे । एवीसी नेपालकी अध्यक्ष कंचना ढकाल सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाकी उपाध्यक्ष रेखा अधिकारीले स्वागत र सचिव देवी निरौलाले सञ्चालन गरेकी थिइन् ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले मन्तव्य राखेका थिए।सो अवसरमा बन्दिहरुलाई पुस्तक समेत प्रदान गरिएको थियो ।बन्दि महिलाहरू क्रमशः सीमा शर्मा, मेनुका दास र कमला राई प्रशिक्षक रहेकी तालिममा १५ जना बन्दि महिलाहरू सहभागी हुने महिला प्रशासन प्रमुख कसम गहतराजले बताए। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराई, सशस्त्र प्रहरी उपरीक्षक रमेश पाण्डे लगायतका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेका थियो ।