झापाको कनकाई माविमा अख्तियारको छापा, प्रअ डाँगीको मिलेमतोमा रकम हिनामिना
कनकाई । आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कनकाई माध्यमिक विद्यालय सुरुङ्गामा छापा मारेको छ । प्रधानाध्यापक कर्णबहादुर डाँगीको मिलेमतोमा विद्यालयको रकम हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले गत चैत १७ गते छापा मारेको हो । आयोगको टोलीले १५ दिनभित्र हरहिसाबको प्रमाणित प्रतिलिपि र कनकाई नगरपालिकाको स्पष्ट राय/प्रतिक्रिया पेस गर्न नगरपालिकालाई निर्देशन दिएको छ ।
कनकाई नगरपालिका अन्तर्गत रहेको कनकाई माध्यमिक विद्यालय सुरुङ्गाका प्रअ कर्णबहादुर डाँगी समेतको मिलेमतोमा विद्यालयमा बस तथा पोसाक खरिद, खेल मैदान मर्मत सम्भार, नमुना विद्यालय विकास कार्यक्रम लगायतको शीर्षकहरूमा विनियोजित रकम हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा वास्तविकता के कसो भएको हो? तपसिल बमोजिमको वर्षसँग सम्बन्धित कागजातहरूको प्रमाणित प्रतिलिपि र कनकाई नगरपालिकाको स्पष्ट राय/प्रतिक्रिया प्रस्तुत पत्र प्राप्त भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस कार्यालयको अनुसन्धान शाखा नं.४(क) मा आइपुग्ने गरी उपलब्ध गराइदिनुहुन अख्तियारको पत्रमा उल्लेख छ ।
सो पत्रमा आर्थिक वर्ष २०८०/०८१ मा कोशी प्रदेशबाट तत्कालीन सांसद भक्तिप्रसाद सिटौलाको पहलमा रु.२८ लाख खेल मैदान मर्मत सम्भार गर्न निकासा भएको रकम सम्बन्धी खर्चको विवरण, निर्माण कार्य, सोसँग सम्बन्धित सम्पूर्ण कागजातहरू र रङ्गिन फोटो समेत धुलार्ई पठाउन,
आर्थिक वर्ष २०८०/०८१ मा गरिब अभिभावकबाट सहयोगको नाममा लिएको रकम सार्वजनिक खरिद ऐन नियमले तोकेको प्रक्रिया नअपनाई रु.२८ लाखमा बस खरिद गरेको र बस मर्मत सम्भारका नाममा रु.५ लाख खर्च गरेको भन्ने सम्बन्धमा मर्मत, खरिद प्रक्रिया, सोसँग सम्बन्धित सम्पूर्ण कागजातहरू, बस सञ्चालनमा रहे/नरहेको र रगीन फोटो समेत खुलाई पठाउन निर्देशन दिइएको छ ।
त्यस्तै नमुना विद्यालयको लागि आर्थिक वर्ष २०८१/०८२ मा रु.४५ लाख निकासा भएको र नमुना विद्यालय विकास कार्यक्रमको रकम खर्च गर्न विद्यालय व्यवस्थापन .समितिबाट कार्ययोजना बनाई नगर शिक्षामा २०८१ श्रावण– भाद्र महिनामा पेस गरी अनुमोदन गराई खर्च गर्नु पर्नेमा प्रअले फर्जी विल र डोर हाजिर बनाई २०८१ फागुनमा मात्र कार्ययोजना पेस गरेको भन्ने सम्बन्धमा वित्त भरपाई, डोर हाजिर, सोसँग सम्बन्धित सम्पूर्ण कागजातहरू र रङ्गिन फोटो समेत खुलाई पठाउन,. विद्यालयको आफ्नो स्वामित्वमा रहेको धनीपुर्जा भएको करिब ३ कट्ठा जग्गा प्रतिकट्ठा करोड पर्ने नगरपालिका वडा नं. ३ को वडा कार्यालय स्थापना गरी अतिक्रमण गरेको भन्ने सम्बन्धमा सोसँग सम्बन्धित सम्पूर्ण कागजातहरू खुलाई पठाउन,विद्यालयको प्राङ्गणको पूर्व दक्षिण मोहडामा नगरपालिका वडा नं. ३ को वडा कार्यालय रहेको र त्यसको पूर्वतर्फ विद्यालयको कित्ता नं. ३१२ को करिब ०–१–० कट्ठा जग्गा करोड मूल्य पर्ने जानुका मगर र निजको छोराहरूलाई विद्यालयको सम्पत्ति दिएको र त्यस जग्गामा पक्की घर बनाएको भन्ने सम्बन्धमा सोसँग सम्बन्धित सम्पूर्ण कागजातहरू खुलाई पठाउन निर्देशन दिइएको छ ।