२०८३ बैशाख २ गते , बुधबार

राष्ट्रिय जनगणना : भद्रपुर र दमकमा कार्यालय स्थापना

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ४ गते , बुधबार
राष्ट्रिय जनगणना : भद्रपुर र दमकमा कार्यालय स्थापना

भद्रपुर । राष्ट्रिय जनगणना तथ्याङ्क संकलनका लागि झापामा दुई स्थानमा कार्यालय स्थापना गरिएको छ । राष्ट्रिय जनगणना, २०७८ का लागि झापाको दमक र चन्द्रगढीमा मंगलबार कार्यालय स्थापना गरिएको हो । चार महिनाका लागि स्थापना गरिएका दुवै अस्थायी कार्यालयमा सात÷सात जना गरी १४ जना कर्मचारी राखिएको छ ।

‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औँ जनगणना २०७८ देशभर सञ्चालन हुँदैछ । सोही अनुरुप नै कार्यालयबाट अब काम सुरु गरिएको हो ।
जनगणनाका लागि सुपरिवेक्षक २५९ जना र गणक एक हजार ८१ जना परिचालन गरिने जिल्ला जनगणना कार्यालय चन्द्रगढीका  प्रमुख चुडामणि लुइटेलले बताए । उनले पहिलो चरणको कार्यक्रम अन्तरगत घर तथा परिवारको सूचीकरण यही बैशाख २६गतेदेखि जेठ १४ गतेसम्म सुपरीबेक्षकले प्रत्यकेका घरघर पुगेर गर्ने बताए ।

जसमा परिवारको संख्याको विवरण,कृषि तथा पशुपंक्षी सम्बन्धी विवरण, बैङ्किङ पहुँचको विवरण संकलन हुनेछ । जनगणनाको मुख्य चरण दोस्रो हो । जुन जेठ २५ गतेदेखि असार ८ गतेसम्म सञ्चालन हुने उनले बताए । उनका अनुसार दोस्रो चरणमा पारिवारिक विवरण, परिवारको प्रत्येक सदस्यको व्यक्तिगत जानसंख्यिक, अपाङगता, आर्थिक सक्रियता, शैक्षिक, बसाई सराईको अवस्थाको विवरण संकलन गरिनेछ ।

माइपश्चिमका सातवटा पालिकाहरु, कनकाई, शिवसताक्षी, गौरादह, दमक नगरपालिका, कमल, गौरीगञ्ज र झापा  गाउँपालिकालाई समेट्ने गरी दमकमा कार्यालय स्थापना गरिएको छ भने विर्तामोड, मेचीनगर, अर्जुनधारा, भद्रपुर नगरपालिका, बुद्धशान्ति, बाह्दशी, हल्दिबारी र कचनकवल गाउँपालिकाको तथ्याङ्क संकलन गर्ने गरी चन्द्रगढीमा कार्यालय स्थापना गरिएको उनले बताए ।

जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन वडा तहसम्म पहुँच पुर्याउने हिसाबले पालिकाका प्रमुख प्रशासकीय अधिकृत संयोजक रहने गरी सबैपालिकामा जनस्तरीय जनगणना कक्ष रहने व्यवस्था गरिएको छ । जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला जनगणना समन्वय समिति गठन गरिएको समाचार लोकतन्त्र पोष्टमा छ । 

सम्बन्धित समाचार