झापामा हात्तीको आक्रमणबाट घाइते दुईमध्ये एक मजदुरको उपचारको क्रममा मृत्यु
झापा । झापामा जङ्गली हात्तीको आक्रमणबाट घाइते दुईमध्ये एक मजदुरको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट इलाम जिल्ला देउमाइ नगरपालिका १० बस्ने १९ वर्षीय विजय खातीको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । उनको उपचारको क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।
बुद्धशान्ति गाउँपालिका २ स्थित बिरिङ खोलाको बिन्दुली बाँध नजिकै ढुङ्गा गिट्टी ढुवानीमा खटिएका दुई मजदुरमाथि बुधवार बिहान ६ बजे हात्तीले आक्रमण गरेका थिए । अर्को मजदुर अर्जुनधारा नगरपालिका १ सिस्ने निवासी १९ वर्षीय मिलन कार्की डोली सामान्य घाइते भएका थिए। डोलीको देब्रे खुट्टामा सामान्य चोट लागेको बताइएको छ ।
त्यस्तै हात्तीले एउटा गाईको बाछी मारेका छन् । बुद्धशान्ती गाउँपालिका २ बस्ने मणि कट्टेलले पालेको बाछीलाई हात्तीले दारा प्रहार गरी मारेको प्रहरीले जनाएको छ ।