झापामा ४२ करोड लगानीमा वाटर किङ्डम पार्क एण्ड रिसोर्ट सञ्चालनमा
झापा । झापाको शिवसताक्षी नगरपालिका –८ झिलझिलेमा सुविधासम्पन्न वाटर किङ्डम पार्क एण्ड रिसोर्ट सञ्चालनमा आएको छ । २ विगाह ५ कठ्ठा क्षेत्रफलमा फैलिएको वाटर किङ्डम पार्क एण्ड रिसोर्ट ४२ करोड रुपैयाँको लगानीमा राजकुमार संग्रौलाले सञ्चालनमा ल्याएका हुन् ।
रिसोर्टमा १६ वटा सुविधासम्पन्न भिआईपी गेष्ट रुम, सेमिनार हल र पार्टी हल रहेको रिसोर्टका सञ्चालक तथा कार्यकारी निर्देशकसमेत रहेका संग्रौलाले शनिवार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । संग्रौलाको एकल लगानीमा निर्माण गरिएको रिसोर्टमा मनोरञ्जनका लागि आउने पर्यटकका लागि टिकट खुल्ला गरेर संचालनमा ल्याएको कार्यकारी निर्देशक संग्रौलाले बताए ।
पार्कमा पानीमा खेलेर मनोरञ्जन लिने ८ प्रकारका खेल छन् । पार्ककी अध्यक्ष मेनुकादेवी संग्रौलाले स्विमिङ पुल, वेब पुल, मल्टिलेण्ड स्लाइड, वेब स्लाइड, क्रुसर स्लाइड, सोफालेण्ड स्लाइड र पेन्डुलम स्लाइड सञ्चालन भइसकेको बताइन् ।
बालबालिकाका लागि किड्स जोन र सिक्स्पा पार्क , वाटर किङडम पार्क छन् भने बृद्धबृद्धाका लागि विश्राम चौतारी पनि पार्कमा निर्माण गरिएको छ । युवायुवतीका लागि पार्कभित्र खान बस्न र पार्कभित्रका दृश्यहरू अवलोकनका लागि विभिन्न संरचनाहरू निर्माण गरिएका छन् । पार्कमा ४५ मिटर लामो सुरुङ मार्ग पनि सञ्चालनमा छ ।
पार्कभित्र भेज र ननभेजका फरक–फरक होटल सञ्चालन छन् भने आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधासम्पन्न २८ वटा कोठाको दुईवटा भवन निर्माण भएको छ । पार्कमा आउने पर्यटकले शिवसताक्षी नगरपालिकाको प्रमुख पर्यटकीयस्थलहरू सताक्षीधाम, चिल्लागढ पोखरी र दोमुखा पार्कभित्रका वालहरूमा हेर्न पाउनेछन् ।
पार्कबाट ७५ जना कर्मचारी रहेको सञ्चालक संग्रौलाले जानकारी दिए । पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि पूर्वका पर्यटकीयस्थल इलाम, झापा, धनकुटा, ताप्लेजुङ, पाँचथर, सुनसरीलगायतका स्थानहरुमा प्याकेजमा भ्रमण गराउने उनले बताए । उनले आन्तरिक तथा बाह्य पर्यटकले सस्तोमा पूर्वका पर्यटकीय स्थलहरूमा पुगेर मनोरञ्जन लिन सक्ने बताए । कार्यक्रममा शिवसताक्षी नगरपालिका ८ का अध्यक्ष केहरसिंह बस्नेत, उद्योग बाणिज्य संघ शिवसताक्षीका अध्यक्ष भोला मैनालीलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन पार्क सञ्चालक समितिका सचिव गणेश घिमिरेले गरेका थिए ।