२०८३ बैशाख २ गते , बुधबार

झापा उद्योग सङ्घको पद हस्तान्तरण 

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २९ गते , शनिबार
झापा उद्योग सङ्घको पद हस्तान्तरण 

भद्रपुर । झापाका उद्योगीहरूको निकै पुरानो संस्था झापा उद्योग सङ्घमा आगामी तीनवर्षे कार्यकालका लागि निर्वाचित कार्यसमितिले शनिबारदेखि कार्यभार सम्हालेको छ ।
सङ्घकै सभा हलमा आयोजित समारोहका बिच नवनिर्वाचित अध्यक्ष यमबहादुर श्रेष्ठलाई सङ्घको माइन्यूट दिँदै वर्तमान अध्यक्ष टिकाराज ढकालले पद हस्तान्तरण गरेका हुन् ।
समारोहका प्रमुख अतिथि सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चण्डीराज ढकालले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई ओहोदाको प्रमाणपत्र वितरण गरे भने निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत गोपाल गिरीले खादा–माला पहिराएर सम्मान गरे ।
महासचिव दुर्गाप्रसाद भण्डारीले सञ्चालन गरेको समारोहमा प्रमुख अतिथि ढकालले शुभकामना मन्तव्य राख्दै सङ्घको गरिमा उच्च राख्न र उद्योगीहरूको समस्या समाधानमा नवनिर्वाचित कार्यसमितिले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले भद्रपुर नगरपालिकाले औद्योगिक ग्राम स्थापनाका लागि प्रक्रिया अघि बढाइसकेको जानकारी दिँदै त्यसका लागि आवश्यक सुझाव–सल्लाह दिन उद्योगी–व्यवसायहिरुलाई आग्रह गरे ।
समारोहमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तारानाथ घिमिरे, झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज पनेरु, भद्रपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष बन्धु कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार