२०८३ मंसीर ८ गते , सोमबार

सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन परियोजनाको शिलान्यास

sajilo news
झापा
२०८३ मंसीर ८ गते , सोमबार
सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन परियोजनाको शिलान्यास

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका समकक्षी नरेन्द्र मोदीले सिलिगुडी–चारआली पेट्रोलियम पाइपलाइन तथा झापाको चारआलीमा ग्रीनफिल्ड क्षेत्रीय टर्मिनल (भण्डारण गृह) निर्माण परियोजनाको शिलान्यास गरेका छन् । नेपाल सरकार र भारत सरकारबीचको द्विपक्षीय समझदारीअनुसार अघि बढाइएको उक्त परियोजनाको आज नयाँदिल्लीमा शिलान्यास गरिएको हो ।

यता मेचीनगर नगरपालिका–१३ स्थित नेपाल आयल निगम लिमिटेडको सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन तथा ग्रिनफिल्ड टर्मिनल परियोजनाको फिल्डमा पनि शिलान्यास कार्यक्रम राखिएको थियो । प्रधानमन्त्री शाह तथा भारतका प्रधानमन्त्री मोदीबाट संयुक्त रूपमा भर्चुअल माध्यमबाट स्विच थिचेर प्याकेजमा परियोजनाको शिलान्यास गरिएको थियो । कार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रितेशकुमार शाक्य र प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलद्वारा शिलालेख अनावरण गरिएको थियो ।

कार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक शाक्य, नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साह, इन्डियन आयल कर्पोरेसनका कार्यकारी निर्देशक श्यामानन्द झा,इन्डियन आयल कर्पोरेसनका कन्ट्री म्यानेजर निरूपण रायजादा, भारतीय राजदूतावासका अधिकारीहरू निशा धवल र कुमुदा पोखरेल, प्रमुख जिल्ला अधिकारी पोखरेल,मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालकुमार बुढाथोकी,जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू,आयल निगमका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

परियोजनाअन्तर्गत भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म करिब ५० किलोमिटर लामो र ८ इन्च व्यासको पाइपलाइन निर्माण गरिनेछ । जसमध्ये भारततर्फ ३६ किलोमिटर र नेपालतर्फ १४ किलोमिटर रहने नेपाल आयल निगमले जनाएको छ । निर्माणस्थलमा कुल १८ हजार ९०० किलोमिटर क्षमताको स्वचालित प्रणालीमा आधारित पेट्रोलियम भण्डारण गृह बनाइनेछ ।

उक्त भण्डारण गृहमा पेट्रोल भण्डारणका लागि २२०० किलो लिटर क्षमताका ३ वटा भर्टिकल ट्याङ्क र डिजलका लागि ४१०० किलोमिटर क्षमताका ३ वटा भर्टिकल ट्याङ्क निर्माण हुनेछन् । आयोजनास्थलमा नेपाल आयल निगमको आफ्नै स्वामित्वमा २३ बिघा ३ कट्ठा १३ धुर जग्गा छ ।

कुल अनुमानित लागत करिब ११ अर्ब १४ करोड नेपाली रुपैयाँ रहेको छ । जसमा पाइपलाइनतर्फ करिब ४ अर्ब २७ करोड रुपैयाँ र ग्रीनफिल्ड टर्मिनलतर्फ करिब ६ अर्ब ८७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सम्पूर्ण परियोजना भारत सरकारको पूर्ण अनुदान सहयोगमा निर्माण हुने निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले बताए ।

परियोजना सम्पन्न भएपछि कोशी प्रदेशसहित मधेशका सप्तरी र सिराहा जिल्लामा पेट्रोलियम पदार्थको आपूर्ति सहज, सुरक्षित र भरपर्दो हुने अपेक्षा गरिएको साहले बताए । सडकमार्गको ढुवानी निर्भरता घट्ने, भन्सारमा सवारी साधनको जाम कम हुने, ढुवानी खर्च बचत हुने, प्रदूषण र मार्गमा हुने अवाञ्छित गतिविधि नियन्त्रण हुने तथा आपत्कालीन अवस्थामा देशभर आपूर्ति व्यवस्थापनमा टेवा पुग्ने उनको भनाइ छ ।

भारतीय आयल निगमबाट पाइपलाइनको विस्तृत इन्जिनियरिङ रुट सर्वेक्षण तथा टर्मिनलको डिजाइन र नक्सांन कार्य सम्पन्न भइसकेको निगमले जनाएको छ । ’दुवै देशका सम्बन्धित निकायबीच प्राविधिक कार्यविधि र कार्यतालिका निर्धारण भई आवश्यक उपकरण तथा सामग्री खरिद प्रक्रिया अघि बढेको छ भने नेपालतर्फ वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा विकास तथा निर्माणसम्बन्धी प्रक्रिया जारी छन्,’ निगमका कार्यकारी निर्देशक साहले भने ।

करिब ५४ महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य लिए पनि इन्डियन आयल कर्पोरेसन लिमिटेडले करिब ३६ महिनाभित्रै सम्पन्न गर्ने योजना बनाएको निगमले जनाएको छ ।

सम्बन्धित समाचार