२०८३ मंसीर ६ गते , शनिबार

झापामा रगत अभाव चुलिँदै, रक्तदाता खोज्न आफन्तलाई सास्ती

sajilo news
झापा
२०८३ मंसीर ५ गते , शुक्रबार
झापामा रगत अभाव चुलिँदै, रक्तदाता खोज्न आफन्तलाई सास्ती

झापामा पछिल्लो समय रगतको अभाव गम्भीर बन्दै गएको छ । अस्पतालमा उपचारका लागि आउने बिरामीलाई रगत आवश्यक पर्ने क्रम बढ्दै गए पनि रक्तदान गर्नेको सङ्ख्या घट्दै जाँदा जिल्लामा रगतको अभाव चुलिन थालेको हो । रगत आवश्यक पर्ने बिरामी र तिनका आफन्तको सङ्ख्या ठूलो भए पनि रक्तदानका लागि स्वेच्छाले अघि सर्ने मानिसको सङ्ख्या न्यून हुँदा बिरामीका आफन्तले रगत खोज्न निकै सास्ती बेहोर्नुपरेको छ । पूर्वी पहाडी जिल्लाबाट अधिकांश बिरामीहरू बिर्तामोड, भद्रपुर, दमक, धुलाबारी लगायतका विभिन्न अस्पतालमा उपचारका लागि पुग्ने गरेका छन् ।

झापामा दैनिक १२० युनिटसम्म रगत खपत हुने गरेको रेडक्रसकर्मी तथा सामाजिक अभियन्ता विष्णु आचार्यले जानकारी दिए । तर, मागअनुसार रगत सङ्कलन हुन नसक्दा आवश्यक परेको समयमा बिरामीलाई रगत उपलब्ध गराउन कठिन हुँदै गएको उनको भनाइ छ । रगतको आवश्यकता दिनप्रतिदिन बढिरहेको भए पनि रक्तदान गर्ने प्रवृत्ति भने अपेक्षित रूपमा विकास हुन नसकेको उनले बताए ।

उनले भने–रगत माग्ने धेरै छन्, तर रगत दिन तयार हुने मानिस भेट्न मुस्किल छ । रक्तदान गर्नुपर्छ भन्ने चेतना समाजमा अझै पर्याप्त विकास हुन सकेको छैन । अप्ठ्यारो पर्दा सामाजिक अभियन्ता र रक्तदाताको खोजीमा लाग्नुपर्ने अवस्था छ ।

विशेषगरी सुत्केरी महिला, मिर्गौलासम्बन्धी रोगका बिरामी तथा नियमित डायलिसिस गराउनुपर्ने बिरामीलाई रगतको आवश्यकता पर्ने गरेको छ । त्यस्तै, सडक दुर्घटना, आकस्मिक शल्यक्रिया तथा अन्य जटिल स्वास्थ्य समस्याका कारण अस्पताल पुग्ने बिरामीलाई तत्काल रगत चाहिने हुन्छ । यस्ता बिरामीका लागि रगतको अभाव हुनु भनेको उपचार प्रक्रियामै अवरोध आउनु हो । समयमा रगत उपलब्ध हुन नसके बिरामीको ज्यानसमेत जोखिममा पर्ने अवस्था रहन्छ ।

बिरामीका आफन्तहरू रगतको खोजीमा लाग्ने गरेका थोरै मात्रै मानिस रक्तदान गर्न तयार हुन्छन्– आचार्य भन्छन् । झापामा रगतको माग उच्च भए पनि रक्तदानलाई सामाजिक दायित्वका रूपमा स्थापित गर्न नसकिएको आचार्यको भनाई छ । उनका अनुसार रक्तदान महादान हो भन्ने सन्देश समाजमा स्थापित गर्नुपर्ने भए पनि यस अभियानमा सबैभन्दा प्रभावकारी भूमिका खेल्न सक्ने अस्पताल, चिकित्सक र स्वास्थ्यकर्मीबाटै अपेक्षित पहल हुन नसकेको बताए ।

बिरामी अस्पतालमा उपचारका लागि पुग्दा चिकित्सकले रगत आवश्यक पर्ने जानकारी दिए पनि त्यही समयमा रक्तदान गर्नुपर्ने महत्त्व र त्यसले अरूको जीवन बचाउन सक्ने सन्देश दिन भने चिकित्सक तथा अस्पताल प्रशासनले पर्याप्त चासो नदिएको आचार्यको गुनासो छ । अस्पतालमा दैनिक सयौँ बिरामी र तिनका आफन्तसँग प्रत्यक्ष सम्पर्क हुने भएकाले रक्तदानको महत्वबारे जानकारी दिने र रक्तदानका लागि प्रेरित गर्ने काम अस्पतालबाटै सुरु हुनुपर्ने उनको धारणा छ ।

उनले सबै सञ्चारकर्मीहरू समेत रक्तदान र रगतको महत्वको विषयमा आम जनमासमा सूचना प्रवाह गरिदिन अनुरोध गरे । अस्पताल सञ्चालक, चिकित्सक तथा स्वास्थ्यकर्मीले रक्तदानलाई नियमित अभियानका रूपमा अघि बढाउन सके समाजमा सकारात्मक सन्देश प्रवाह हुने भए पनि स्वास्थ्य संस्थाहरूले यस विषयलाई प्राथमिकतामा नराख्दा रक्तदानप्रतिको सामाजिक चेतना विस्तार हुन नसकेको उनको भनाइ छ ।

रक्तदानका विषयमा सामाजिक सञ्जालमा समेत अपेक्षित चर्चा हुन नसक्दा रगत अभावको सूचना मात्रै प्रवाह भइरहेको उनले बताए । विभिन्न सामाजिक तथा सचेतनामूलक कार्यक्रममा रक्तदानको आवश्यकता र महत्वबारे पर्याप्त बहस नहुँदा नयाँ पुस्तामा समेत नियमित रक्तदान गर्ने संस्कार विकास हुन नसकेको उनको भनाई छ । जन्मदिन, विवाह वर्षगाँठ, विभिन्न उत्सव तथा स्मृति दिवसका अवसरमा रक्तदान गर्ने चलनलाई प्रोत्साहन गर्न सकिए पनि त्यसतर्फ सङ्गठित प्रयास कमजोर रहेको आचार्य बताउँछन् ।

उनले पछिल्लो समय झापामा रगतको माग बढ्दै गए पनि रक्तदाताहरू कम हुने अवस्थामा भोलीका दिनमा रगतको अभावले जटिल अवस्था आउन सक्ने तर्फ सबै सजग बन्नुपर्ने आचार्यले बताए । रगतको अभाव हुँदा सबैभन्दा बढी समस्या बिरामीका आफन्तले भोग्नुपरेको छ । अस्पतालले रगत आवश्यक रहेको जानकारी दिएपछि आफन्तहरू रक्तदाता खोज्न सामाजिक अभियन्ता, विभिन्न संघसंस्था तथा चिनजानका व्यक्तिसम्म पुग्नुपर्ने अवस्था छ ।

अझ पहाडी जिल्लाका गाउँ–गाउँबाट ल्याइएका बिरामी तथा तिनका आफन्तहरूले यहाँ चिनजान नहुँदा तथा रगतको विषयमा जानकारी नपाउँदा धेरै समस्या झेल्नुपरेको छ । कतिपय अवस्थामा सामाजिक सञ्जालमार्फत रक्तदाताको खोजी गर्नुपर्ने बाध्यता रहेको छ । आकस्मिक अवस्थामा रगत खोज्दै समय बिताउनुपर्ने हुँदा बिरामीको उपचारमा समेत असर पर्न सक्ने जोखिम रहने बताइन्छ ।

रक्तदान गर्नुपर्छ भन्ने चेतना भएका नागरिकसमेत नियमित रक्तदानका लागि तयार नहुँदा समस्या थप जटिल बन्दै गएको आचार्यको अनुभव छ । रक्तदान गर्न शारीरिक रूपमा सक्षम व्यक्तिले निश्चित समयको अन्तरालमा रक्तदान गर्न सके धेरै बिरामीको जीवन बचाउन सकिन्छ । तर, रक्तदानलाई आफ्नो नियमित सामाजिक जिम्मेवारीका रूपमा लिने प्रवृत्ति अझै विकास हुन सकेको छैन । स्थानीय तह, अस्पताल, चिकित्सक, सामाजिक संघसंस्था, सहकारी, शैक्षिक संस्था तथा विभिन्न व्यावसायिक प्रतिष्ठानले संयुक्त रूपमा रक्तदान अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ ।

पालिका स्तरमा नियमित रक्तदान कार्यक्रम आयोजना गर्ने, विभिन्न संस्थालाई रक्तदानका लागि प्रोत्साहित गर्ने र युवालाई अभियानमा जोड्ने हो भने रगत सङ्कलनमा सुधार ल्याउन सकिने आचार्यको सुझाव छ । विशेषगरी अस्पतालहरूले उपचारका क्रममा रगतको आवश्यकता पर्ने बिरामीका आफन्तलाई मात्र रगत खोज्न लगाउने प्रवृत्तिभन्दा माथि उठेर नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । चिकित्सक तथा स्वास्थ्यकर्मीले बिरामी र आफन्तलाई रक्तदानको महत्त्व बुझाउने, अस्पतालमा रक्तदानसम्बन्धी सचेतनामूलक सामग्री राख्ने र सामाजिक सञ्जालमार्फत अभियान चलाउने हो भने यसले सकारात्मक परिणाम दिन सक्ने बताइएको छ ।

रगतको अभाव कुनै एक अस्पताल वा संस्थाको मात्र समस्या नभई समग्र समाजको साझा चुनौती भएकाले आज रगत आवश्यक पर्ने व्यक्ति भोलि आफू वा आफ्नै परिवारको सदस्य हुन सक्ने भएकाले सबै नागरिक जिम्मेवार बन्नुपर्ने उनको भनाई छ । त्यसैले रगतको आवश्यकता परेपछि मात्र रक्तदाता खोज्नेभन्दा आवश्यकता पर्नुअघि नै रक्तदान गरेर रगतको मौज्दात सुनिश्चित गर्नु आवश्यक रहेको उनको भनाई छ ।

जाडो मौसममा रक्तदान कार्यक्रम तथा रगतको अभाव हुन सकने भएकाले विभिन्न संघ–संस्थाहरूलाई रक्तदानका कार्यक्रमहरू सञ्चालन गर्न आचार्यले आग्रह समेत गरेका छन् ।साथै स्वास्थ्य नागरिकलाई नियमित रक्तदान गर्न अनुरोध गर्दै तपाईँको रगतले कसैको ज्यान बचाउने काम समस्या नभएको उनको भनाई छ ।

सम्बन्धित समाचार