२०८३ कार्तिक ३० गते , आईतबार

पाथीभरामा भक्तजनको घुइँचो, एकैदिन ११ हजारभन्दा बढीले गरे देवीको दर्शन

sajilo news
ताप्लेजुङ
२०८३ कार्तिक २९ गते , शनिबार
पाथीभरामा भक्तजनको घुइँचो, एकैदिन ११ हजारभन्दा बढीले गरे देवीको दर्शन

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको दर्शन गर्न आउने भक्तजनको चहलपहल चिसो मौसममा पनि घटेको छैन । शनिबार मात्रै ११ हजार २ सय ७२ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका राजेन्द्र महतका अनुसार शनिबार र मंगलबार मन्दिरमा भक्तजनको बढी चहलपहल हुने गरेको छ । दसैँलगायत चाडपर्वका अवसरमा पनि देशका विभिन्न स्थानबाट ठूलो संख्यामा श्रद्धालु आउने गरेका छन् । मनोकामना पूरा हुने विश्वासका साथ भाकल गर्न र भाकल पूरा भएपछि दर्शन तथा पूजाआजा गर्न भक्तजन पाथीभरा पुग्ने गर्छन् ।

समुद्री सतहबाट ३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा हिन्दू धर्मावलम्बीको प्रमुख तीर्थस्थलमध्ये एक हो । देवीको दर्शनले मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण नेपालका विभिन्न जिल्ला तथा भारत, भुटानलगायत देशबाट पनि श्रद्धालु यहाँ आउने गरेका छन् । पाथीभरा हिन्दूका साथै बौद्ध धर्मावलम्बीका लागि पनि आस्थाको केन्द्र मानिन्छ ।

पाथीभरा पुग्ने भक्तजनले धार्मिक आस्थासँगै यहाँको प्राकृतिक सौन्दर्यको पनि अनुभव गर्न पाउँछन् । मन्दिर परिसरबाट कञ्चनजङ्घा र कुम्भकर्णलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । यात्राका क्रममा हरियाली पहाड, वनजङ्गल र हिमाली दृश्यले पनि पर्यटकलाई आकर्षित गर्छन् ।

उच्च पहाडी क्षेत्रमा अवस्थित भएकाले पाथीभरामा चिसो बढ्दै गएको छ । यहाँको तापक्रम जाडोयाममा शून्य डिग्री सेल्सियस आसपास पुग्ने गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । कठिन पैदल यात्रापछि पुगिने यो तीर्थस्थलमा चिसोको पर्वाह नगरी भक्तजनको आगमन जारी छ ।

सम्बन्धित समाचार