भद्रपुरमा खसी चोरी प्रकरण : भारत पुर्याएर बेच्ने र आफ्नो भन्दै ल्याउने दुई जना पक्राउ
भद्रपुर । झापाको भद्रपुरमा खसी चोरी गरी भारतको गलगलियामा पुर्याएर बिक्री गरेको र पछि उक्त खसी आफ्नो भएको दाबी गर्दै नेपाल ल्याएको घटनामा संलग्न दुई जना पक्राउ परेका छन् ।
भद्रपुर नगरपालिका–५ निवासी ३० वर्षीय मनोजलाल दासको घरछेउमा रहेको चौरमा बाँधेर राखेको खसी चोरी गरेको आरोपमा भद्रपुर नगरपालिका–६ निवासी २३ वर्षीय भोला सहनी र ४४ वर्षीय बिर्जु सहनी पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार मंगलबार दिउँसो करिब ४ बजे दासको घरछेउमा बाँधिएको खसी हराएको थियो । खसी हराएपछि घरपरिवार तथा स्थानीयले खोजतलास सुरु गरेका थिए । खोजीका क्रममा चोरी भएको खसी भारतको गलगलियामा पुर्याइएको खुलेको थियो ।
प्रारम्भिक घटनाक्रमअनुसार भोला सहनीले उक्त खसी चोरी गरी भारतको गलगलियामा लगेर बिक्री गरेका थिए । त्यसबारे जानकारी पाएपछि बिर्जु सहनी गलगलिया पुगेर खसी आफ्नो भएको दाबी गर्दै आफूसँग ल्याएका थिए ।
यसैबीच, खसीधनी दासले आफ्नो खसी चोरी भएको भन्दै प्रहरीलाई जानकारी गराएपछि खोजी गर्ने क्रममा बिर्जुको साथबाट उक्त खसी फेला परेको थियो । यता वडा प्रहरी कार्यालय भद्रपुरले दुवै जनालाई पक्राउ गरेको छ । उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको जनाइएको छ ।