२०८३ कार्तिक २७ गते , विहीबार

मोरङमा भीषण आगलागी : पाँच घर जलेर नष्ट

sajilo news
मोरङ
२०८३ कार्तिक २७ गते , विहीबार
मोरङमा भीषण आगलागी : पाँच घर जलेर नष्ट

मोरङको सुनवर्षीमा बुधवार साँझ भएको आगलागीमा पाँचवटा घर जलेर नष्ट भएको छ । सुनवर्षी नगरपालिका–६ झपडतल निवासी दिलबहादुर कार्कीको काठले बनेको दुई तले घर, दुई वटा गाईगोठ, भान्छा घर र भण्डारघरसहित पाँचवटा संरचना जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुधवार साँझ ६ः ४५ बजेदेखि सुरु भएको आगलागी दमकल, स्थानीयवासी र सुरक्षाकर्मीको सक्रियतामा राति ९ः१५ बजेतिर नियन्त्रणमा लिइएको थियो। आगो निभाउन रतुवामाई, रङेली नगरपालिका र कानेपोखरी गाउँपालिकाबाट दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ ।

आगलागीका क्रममा गाईगोठबाट गाई गोरु निकाल्ने प्रयास गर्दा कार्कीकी नातिनी सुष्मा कार्कीको हातमा सामान्य चोट लागेको छ। गोठमा रहेका चारवटा गाई गोरुको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले पटाका पड्काउने क्रममा आगो सल्किएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ। आगलागीबाट एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको हुनसक्ने अनुमान गरे पनि क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार