भाइटिकाको रात मादक पदार्थ सेवन गरी झापाका दुई ठाउँमा झडप, ६ जना घाइते
भाइटिकाको दिन मादक पदार्थ सेवन गरी झापाका दुई छुट्टाछुट्टै स्थानमा दुई पक्षबीच झडप हुँदा ६ जना घाइते भएका छन् । शिवसताक्षी नगरपालिका र गौरादह नगरपालिकामा भएका झडपमा घाइते भएका सबैको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
शिवसताक्षी नगरपालिका–७ लालपानीमा गएराति करिब ११ः५५ बजे मादक पदार्थ सेवन गरेका दुई पक्षबीच सामान्य विवादपछि कुटाकुट भएको थियो । झडपमा परी शिवसताक्षी–७ का ३३ वर्षीय दीपेश चुँडाल, सोही ठाउँका ३३ वर्षीय प्रवीण रोक्का र कनकाई नगरपालिका–४ का ४० वर्षीय जीवन रोक्का घाइते भएका छन् ।
उनीहरूको कनकाई नगर अस्पताल सुरुङ्गामा उपचार भइरहेको छ । कुटपिटमा संलग्न भनिएका शिवसताक्षी–७ का ४० वर्षीय रमेश भन्ने अबियन्त्र श्रेष्ठ पनि घाइते भएका छन् । उनको समेत सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न अन्य दुई जना भने फरार भएका छन् । फरार हुनेमा शिवसताक्षी–७ का ४० वर्षीय डिल्लीराम चुँडाल र सोही ठाउँका ३५ वर्षीय देवीप्रसाद चुँडाल रहेका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, गौरादह नगरपालिका–२ हाँसखोरामा गएराति करिब १२ः३० बजे चुरोटको विषयलाई लिएर दुई युवाबीच विवाद हुँदा थप दुई जना घाइते भएका छन् । स्थानीय २९ वर्षीय प्रदीप बुढाथोकी र २९ वर्षीय मिलन राई दुवैले मादक पदार्थ सेवन गरेको अवस्थामा चुरोटको विषयमा विवाद भएको थियो । विवाद बढ्दै जाँदा मिलन राईले बियरको बोतलले प्रदीपको टाउकोमा प्रहार गरेका थिए । त्यसपछि प्रदीपले पनि बियरको बोतलले मिलनमाथि प्रहार गरेको प्रहरीले जनाएको छ ।
दुवै जनाको टाउकोमा चोट लागेको छ । उनीहरूलाई गौरादह नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि दमकस्थित निम्स अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।