तिहार लक्षित आगलागी नियन्त्रण अभ्यासमा जुट्यो सशस्त्र प्रहरी
भद्रपुर । आउँदै गरेको तिहार पर्वलाई लक्षित गर्दै सम्भावित आगलागीका घटना न्यूनीकरण तथा विपद्को समयमा तत्काल उद्धार र आगो नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल नं। २ गण झापाले आगलागी नियन्त्रणसम्बन्धी अभ्यास गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले भद्रपुर नगरपालिकासँगको सहकार्यमा उक्त अभ्यास सञ्चालन गरेको हो। तिहारका बेला दीपावली, पटका तथा अन्य प्रज्वलनशील सामग्रीको प्रयोगबाट आगलागीको जोखिम बढ्न सक्ने भएकाले सम्भावित दुर्घटना रोकथाम र विपद् प्रतिकार्यको पूर्वतयारीस्वरूप अभ्यास गरिएको जनाइएको छ।
अभ्यासका क्रममा सशस्त्र प्रहरी कर्मचारीहरूले आगलागी नियन्त्रण, उद्धार तथा जोखिमपूर्ण अवस्थाबाट जनधनको सुरक्षा गर्ने विधिबारे व्यावहारिक अभ्यास गरेका थिए। विपद्का बेला तत्काल परिचालित भई आगो नियन्त्रण तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन अभ्यासले सहयोग पुग्ने विश्वास लिइएको छ।
यस प्रकारका अभ्यासले सुरक्षाकर्मीको पूर्वतयारी, कार्यक्षमता र स्थानीय तहसँगको समन्वयलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। आगलागी तथा अन्य विपद्का घटनामा उद्धार र सुरक्षा कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले सम्भावित जोखिम न्यूनीकरण र विपद् प्रतिकार्य क्षमता अभिवृद्धिका लागि स्थानीय तहसँगको सहकार्यलाई प्राथमिकता दिँदै आएको छ।
यसैबीच, सशस्त्र प्रहरीले तिहारलाई सुरक्षित र मर्यादित बनाउन दीपावलीका क्रममा आगो तथा विद्युतीय उपकरण प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। साथै, आगलागीको जोखिम देखिएमा वा कुनै अप्रिय घटना भएमा तत्काल सशस्त्र प्रहरी वा सम्बन्धित निकायलाई खबर गर्न सर्वसाधारणमा अनुरोध गरेको छ।