२०८३ कार्तिक २७ गते , विहीबार

कुखुराको भालेको विषयमा हत्या, फरार प्रतिवादी २३ वर्षपछि पक्राउ

sajilo news
इलाम
२०८३ कार्तिक १२ गते , बुधबार
कुखुराको भालेको विषयमा हत्या, फरार प्रतिवादी २३ वर्षपछि पक्राउ

कुखुराको भाले चोरी भएको विषयमा हत्या गरेको कर्तव्य ज्यान मुद्दाका इलामका एक प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन् । यति धेरै वर्षपछि पक्राउ परी कारागार चलान हुनेमा इलाम चुलाचुली गाउँपालिका-३ बस्ने कमल भन्ने प्रेमकुमार श्रेष्ठ रहेका छन् । २०६१ फागुन १ गते राति बलबहादुर लिम्बुको घरबाट कुखुराको भाले चोरी भएको थियो । त्यस विषयमा भोलिपल्ट फागुन २ गते अभियुक्तमध्ये अशोक राईको विवाह भोजमा मिलेमतो गरी बलबहादुर लिम्बुको घर घेरा हालेका थिए ।

 त्यस क्रममा अमित केरुङ समेत भई खुकुरी, रोल , भाटासमेतले बलबहादुरका छोरा शुक्रप्रसाद लिम्बुलाई मार्ने मनसायले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइतेलाई धरान घोपामा लगी उपचार गराउने क्रममा २०६१ चैत २ गते मृत्यु भएको थियो ।

त्यस ज्यान मुद्दाका प्रतिवादी चुलाचुली ३ बस्ने कमल भन्ने प्रेमकुमार श्रेष्ठ समेतलाई इलाम जिल्ला अदालतको मिति २०६६ कात्तिक १६ गतेको आदेशले ५ वर्ष कैदको फैसला सुनाएको थियो । त्यसपछि सर्वोच्च अदालतको मिति २०६८ चैत २४ गतेको आदेशले जिल्ला अदालत इलामको फैसलालाई नै सदर गरेको थियो ।

तर घटनाका प्रतिवादी श्रेष्ठ फरार भएका थिए । प्रतिवादी श्रेष्ठलाई खोजतलास गर्ने क्रममा गत कात्तिक ४ गते दिउँसो २ बजे घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले फेला पारेको हो । उनलाई पक्राउ गरी सोमवार अदालतमा पेश गर्दा अदालतको आदेशले लागेको कैद भुक्तान गर्न कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित समाचार