२०८३ कार्तिक २७ गते , विहीबार

शक्तिशाली समुद्री आँधी 'सुपर टाइफुन चाम्पी' ताइवानतर्फ तीव्र गतिमा बढ्दै

sajilo news
एजेन्सी
२०८३ कार्तिक ७ गते , शुक्रबार
शक्तिशाली समुद्री आँधी 'सुपर टाइफुन चाम्पी' ताइवानतर्फ तीव्र गतिमा बढ्दै

प्रशान्त महासागरमा उत्पन्न भएको शक्तिशाली समुद्री आँधी 'सुपर टाइफुन चाम्पी' ताइवान र जापानको दक्षिणी क्षेत्रतर्फ तीव्र गतिमा अघि बढेपछि ती क्षेत्रको जनजीवन प्रभावित बनेको छ।

जापानको मौसम विज्ञान एजेन्सी र ताइवानका मौसमविद्हरूका अनुसार यो वर्षको ३० औँ टाइफुन ‘चाम्पी’ उत्तर-पश्चिमतर्फ अघि बढिरहेको छ। अनुमानित ३२० किलोमिटर व्यास रहेको यो आँधीका कारण शुक्रबार र शनिबार ताइवान तथा जापानको ओकिनावालगायतका टापुहरूमा १९८ किलोमिटर प्रतिघण्टासम्मको तीव्र गतिमा हावाहुरी चल्ने र २५० मिलिमिटरसम्म भारी वर्षा हुने अनुमान गरिएको छ। समुद्रमा १२ मिटरसम्म अग्ला शक्तिशाली लहरहरू उठ्नसक्ने भन्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चेतावनी दिइएको छ।

भारी वर्षाका कारण पहिरो जाने र नदीहरूमा बाढी आउने जोखिम बढेपछि ताइवानका उत्तर-पूर्वी तटीय तथा पहाडी क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्न थालिएको छ। यस्तै, ताइवान र जापान जोड्ने सयौँ आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका छन्, जसका कारण हजारौँ यात्रुहरू अलपत्र परेका छन्।

प्रशान्त महासागरमा ‘सुपर एल निन्यो’ को प्रभावले समुद्री तापक्रम बढेपछि शृंखलाबद्ध रूपमा यस्ता शक्तिशाली आँधीहरू उत्पन्न भइरहेको मौसमविद्हरूले बताएका छन्। ओकिनावा नजिकै हुँदै अघि बढ्ने यो टाइफुन क्युशु र कोरियाली प्रायद्वीपबीचको त्सुसिमा जलडमरूमध्य नजिक पुगेपछि कमजोर हुँदै पूर्वतर्फ मोडिने अनुमान गरिएको छ।

सम्बन्धित समाचार