मोरङमा कुटपिटबाट घाइते भएका एक व्यक्तिको मृत्यु
मोरङको धनपालथानमा कुटपिटबाट घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ । कुटपिटबाट घाइते भएका धनपालथान गाउँपालिका–२ पैटाका ५८ वर्षीय बलदेव साहको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार बिहान करिब ११ः२० बजे बारीमा टाटी लगाउने विषयमा बलदेव र ३० वर्षीय रविन साहबीच विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
विवादका क्रममा रविनले बलदेवलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते बलदेवको शरीरमा बाहिरी चोट नदेखिए पनि उनी बेहोस भएका थिए ।
त्यसपछि उनलाई उपचारका लागि जीवन विकास अस्पताल लगिएको थियो । सुरुमा उनको अवस्था मध्यम रहे पनि दिउँसो अवस्था गम्भीर बन्दै गएको थियो । थप उपचार सम्भव नहुने चिकित्सकको सल्लाहपछि आफन्तले उनलाई घरतर्फ लिएर गएका थिए । घर लैजाने क्रममा साँझ ५ः३५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले कुटपिटमा संलग्न रविनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रंगेलीमा राखेको छ ।