इलाममा बोलेरो दुर्घटना, पाँच जना घाइते
इलाममा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । आज बिहान १०ः३० बजे इलाम माङ्सेबुङ गाउँपालिका- २ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडक खण्डमा आरुबोटेबाट दमकतर्फ आउँदै गरेको मे १ ज ३३४७ नं. को बोलेरो अनियन्त्रित भई सडकको बायाँतर्फ अन्दाजी ५० मिटर तल झरेर दुर्घटना भएको हो ।
दुर्घटनामा चालक पाँचथर मिक्लाजुङ ३ बस्ने वर्ष ३६ का खेमराज मगर( दाहिने आँखाको तल र दाहिने कुममा सामान्य चोट लागेर घटनास्थलमा नै रहेको, चालक नियन्त्रणमा रहेको ), मिक्लाजुङ ५ बस्ने वर्ष ४३ की मनकुमारी लावती ( बायाँ पाखुरा तथा शरीरको विभिन्न भागमा चोट, अवस्था बोल्न सक्ने सामान्य ), मनकुमारी लावतीकी छोरी वर्ष १२ की लामसिमी लावती ( दाहिने आँखामा गहिरो चोट अवस्था बोल्न नसक्ने, गम्भीर रहेकोमा दिउँसो २ः४० बजे थप उपचारको लागि न्युरो अस्पताल विराटनगर रेफर भएको),मनकुमारी लावतीका छोरा २३ महिनाको लाम्सेमा लावती( टाउकोमा चोट, अवस्था मध्यम ) र तुम्बेवा १ बस्ने वर्ष २१ का जनक तामाङ( दाहिने पाखुरामा चोट, अवस्था सामान्य) रहेका छन् ।
दुर्घटनाबारे प्रहरी चौकी इभाङमा जानकारी प्राप्त हुनसाथ इभाङ र प्रहरी चौकी साकफाराबाट प्रहरी टोली खटिएको थियो । घाइतेहरूलाई उपचारको लागि लाइफलाइन अस्पताल दमक पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।