२०८३ आश्विन ११ गते , आईतबार

सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा ६ सयभन्दा बढीले गरे श्राद्ध

sajilo news
रासस
२०८३ आश्विन ११ गते , आईतबार
सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा ६ सयभन्दा बढीले गरे श्राद्ध

काठमाडौँ । सोह्र श्राद्धको पहिलो दिन आज पशुपतिनाथ क्षेत्रमा ६ सयभन्दा बढी श्रद्धालुले श्राद्ध, तर्पण तथा पिण्डदान गरेका छन् । बिहानैदेखि वर्षा भए पनि श्रद्धालुहरू आफ्ना दिवङ्गत पितृको सम्झनामा धार्मिक विधिअनुसार श्राद्ध गर्न पशुपति क्षेत्रमा पुगेका थिए।

पशुपति क्षेत्रमा लामो समयदेखि श्राद्धलगायत धार्मिक कर्मकाण्ड गराउँदै आएका कलङ्कीका पण्डित शेषकान्त पन्तका अनुसार वर्षाका कारण विगतका वर्षको तुलनामा यस वर्ष पहिलो दिन श्रद्धालुको सङ्ख्या केही कम देखिएको हो।

उनले सोह्र श्राद्ध पितृहरूको सम्झना र सम्मानमा गरिने धार्मिक परम्परा भएको उल्लेख गर्दै पहिलो दिनमै वर्षा भएकाले श्रद्धालुको आवागमन प्रभावित भएको बताए। पितृहरूको आत्माको शान्तिको कामना गर्दै सोह्र श्राद्धका अवसरमा विभिन्न धार्मिक तथा तीर्थस्थलमा श्राद्ध, तर्पण र पिण्डदान गर्ने प्रचलन छ।

यस अवधिमा विशेषगरी पशुपतिनाथ क्षेत्रमा दिवंगत आफन्तको सम्झनामा धार्मिक कर्मकाण्ड गर्ने श्रद्धालुको बाक्लो उपस्थिति रहने गरेको पण्डित गङ्गाराज दाहालले बताए। उनका अनुसार आजदेखि सुरु भएको सोह्र श्राद्ध औँसीसम्म चल्नेछ।

यस अवधिमा श्रद्धालुहरूले आफ्ना दिवङ्गत पितृको सम्झनामा तर्पण, पिण्डदान तथा श्राद्ध गर्ने परम्परा रहिआएको छ। वर्षाका कारण बिहान श्रद्धालुको आवागमन केही प्रभावित भए पनि दिउँसोसम्म पशुपतिनाथ क्षेत्रमा श्राद्ध, तर्पण तथा पिण्डदान गर्नेहरूको चहलपहल जारी थियो।

कोटेश्वरबाट श्राद्ध गर्न पशुपति आएका कमल अधिकारीले वर्षा भए पनि तिथिअनुसार श्राद्ध गर्नुपर्ने भएकाले आफूहरू आएको बताए। उनले सोह्र श्राद्धको अन्तिम दिन श्रद्धालुको उपस्थिति अझ बाक्लो हुने अपेक्षा गरे।

सोह्र श्राद्ध सुरु भएसँगै पशुपतिनाथ क्षेत्रमा श्रद्धालुको चहलपहल बढेको छ । श्रद्धालुहरूको आगमनसँगै पण्डितहरूलाई पनि श्राद्ध, तर्पण तथा पिण्डदानलगायत धार्मिक कर्मकाण्ड गराउन भ्याइनभ्याइ भएको छ।

सम्बन्धित समाचार