२०८३ आश्विन १३ गते , मंगलबार

चन्द्रगढी सामुदायिक वनको २७ औं सभा सम्पन्न, चार जना सम्मानित

sajilo news
झापा
२०८३ आश्विन ११ गते , आईतबार
चन्द्रगढी सामुदायिक वनको २७ औं सभा सम्पन्न, चार जना सम्मानित

भद्रपुर । भद्रपुर-९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको २७ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । वन उपभोक्ता समूहका अध्यक्ष अनुज खतिवडाको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन भद्रपुर नगर प्रमुख गणेश पोखरेलले गरेका थिए । संस्थाको वार्षिक गतिविधि तथा कार्ययोजना सहितको प्रतिवेदन प्रस्तुत गर्दै समूहका अध्यक्ष खतिवडाले आगामी वर्षका लागि नीति तथा कार्योजना पेस गरेका थिए ।

कार्यक्रममा सचिव कमला थापाले साङ्गठनिक प्रतिवेदन तथा कोषाध्यक्ष मञ्जु खतिवडा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि पोखरेलले उद्घाटन गर्दै वन समितिले उपभोक्ताको हितमा गर्ने काममा नगरपालिकाको पूर्ण सहयोग रहने जानकारी दिँदै वन क्षेत्रमै पर्ने चन्द्रगढलाई पर्यटकीय क्षेत्रका रूपमा विकाश गर्नका लागि सकेसम्म प्रयास गरिरहेको बताए । उनले आफ्नै पहलमा यस आर्थिक वर्षमा चन्द्रगढको वृत्ति विकास तथा उन्नतिको लागि सङ्घीय सरकार बाट २ करोड रुपैयाँ अनुदान रकम ल्याउन सफल भएको समेत जानकारी दिए ।

कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, युनाइटेड क्लबका राजेश निरौला, सामुदायिक वन उपभोक्ता महासंघ झापा अध्यक्ष वेदप्रकाश भण्डारी, चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका उपाध्यक्ष घनश्याम अधिकारी लगायतले शुभकामना मन्तव्य राख्दै वन समूहभित्र देखिएको असमझदारी अन्त्य गरी उपभोक्तालाई दिइने सुविधा सहज बनाउन परिषद् सदस्यहरू जिम्मेवार निर्णयमा जान आग्रह समेत गरेका थिए ।

कार्यक्रममा समूहमा आबद्ध भएर निरन्तर वन संरक्षणमा सहयोग गर्ने कपिलमणि दाहाल, स्व. पुहांतु चौधरी,  फुटबल खेलाडी कर्ण लिम्बू र बक्सिङ खेलाडी नारिका राईलाई दोसल्ला सहित प्रशंसा पत्रले सम्मान समेत गरिएको थियो । कार्यक्रमको संंचालन सचिव कमला थापा र स्वागत उपाध्यक्ष श्रीमननारायण पौडेलले गरेका थिए भने परिषद् भेला मार्फत साधारण सभा सम्पन्न गरिएको थियो ।

सम्बन्धित समाचार