२०८३ भाद्र २० गते , शनिबार
झापाको सुरुङ्गामा ओभर र अन्डर पासको माग गर्दै स्थानीयद्वारा चक्काजाम
निर्माणाधीन एसियन हाइवेअन्तर्गत सुरुङ्गामा ओभर पास र अन्डर पासको माग गर्दै स्थानीयले चक्काजाम गरेका छन् । आज बिहान १० बजेदेखि कनकाई- ३ सुरुङ्गा चोकमा एसियन हाइवेको सुरुङ्गा बजार क्षेत्रको सडकमा ओभर पास र अन्डर पासको व्यवस्थापन हुनु पर्ने मागसहित स्थानीयले चक्काजाम गरेका हुन् । विगतदेखि नै स्थानीयवासी र कनकाई उद्योग वाणिज्य सङ्घलगायतले विरोध जनाउँदै आएका छन् ।
दुई दिनअघि निर्माण पक्ष र स्थानीयबीच छलफल हुँदा कुनै पनि सहमति हुन नसकेपछि निर्माण पक्ष र सरोकारवालालाई दबाब दिने उद्देश्यले स्थानीय सरोज अधिकारीको नेतृत्वमा करिब ३०/४० जनाले सो सडक खण्ड अवरोध गरेका थिए । आधा घण्टापछि अवरुद्ध सडक सुचारु गरिएको प्रहरीले जनाएको छ ।