२०८३ भाद्र ३ गते , बुधबार

झापामा सवारी दुर्घटना, एक बालकसहित तीन जनाको मृत्यु

sajilo news
झापा
२०८३ भाद्र २ गते , मंगलबार
झापामा सवारी दुर्घटना, एक बालकसहित तीन जनाको मृत्यु

झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कचनकवल, हल्दिबारी र मेचीनगरमा भएको सवारी दुर्घटनामा परी एक बालकसहित तीन जनाको मृत्यु भएको हो । 

कचनकवल गाउँपालिका–१ चिया बगानमा जोत्दै गर्दा ट्याक्टर पल्टिदा एक बालकको मृत्यु भएको छ । भदौ १ गते प्र. १–०१–००१ त ८९९२ नम्बरको ट्याक्टरले भद्रपुर बस्ने मोहन अग्रवालको खेत जोतिरहेको थियो । सो खेतमा भारत बिहार किशनगंज जिल्ला जोरबारी जियापोखेर–७ बस्ने बाबुलाल मर्डीले कमाउँदै आएका थिए । भारत बिहार किशनगंज जिल्ला गिलाबारी बस्ने ट्याक्टर चालक अजय भट्टियाले जोत्ने क्रममा ट्याक्टर अचानक पल्टिएको थियो । ट्याक्टरमा सवार मर्डीका ८ वर्षीय छोरा सिमोन सोरेन घाइते भएका थिए । उनलाई उपचारको लागि भारततर्फ लाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै चार दिनअघि मेचीनगरमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी पैदल यात्री ५५ वर्षीया अनुका नेवारको उपचारको क्रममा आज मृत्यु भएको छ ।  साउन २९ गते साँझ ७ः१५ बजे मेचीनगर नगरपालिका-३ बडाखालको कल्भर्ट चोकस्थित भित्री सडक खण्डमा मे ३ प ७५१७ नम्बरको मोटरसाइकलले सोही ठाउँका नेवारलाई ठक्कर दिएको थियो । घाइते नेवारलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । उनको उपचारका क्रममा सोमबार दिउँसो २ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यसैगरी गत साउन ९ गते हल्दिवारी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट घाइते भएका पैदल यात्रीको हल्दिबारी-२ का ५८ वर्षीय कृष्णप्रसाद भट्टराईको मृत्यु भएको छ ।  हल्दिबारी–२ सूर्य होली चोकमा पूर्वदेखि पश्चिमतर्फ जाँदै गरेको मे ३ प २८० नम्बरको मोटरसाइकलले पैदल यात्री भट्टराईलाई ठक्कर दिएको थियो । घाइतेलाई ओमसाई पाथीभरा अस्पताल भद्रपुर लगी उपचार भइरहेकोमा साउन ३० गते राति ८ः५० बजे अवस्था गम्भीर भएपछि घरमा ल्याई राखिएको थियो । उनको साउन ३१ गते बिहान ८ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार