नागपञ्चमीमा भक्तजनको घुइँचो : वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि लाम
काठमाडौँ। नागपञ्चमीका अवसरमा पशुपतिनाथ मन्दिरस्थित वासुकिनाथ मन्दिर, काठमाडौँ महानगरपालिका-१ स्थित नागपोखरी र कीर्तिपुरको टौदहमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
नागपञ्चमीका अवसरमा ती स्थानमा पुगेका भक्तजनले पूजा, आराधना एवम् दर्शन गरिरहेका छन्। वासुकिनाथ मन्दिर आज बिहान ३:०० बजेदेखि नै खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। वासुकिनाथ मन्दिरमा आज विशेष पूजा, आराधना हुने भएकाले दर्शनका लागि भक्तजनको लाम लागेको कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले जानकारी दिए। चान्द्रमासअनुसार श्रावण महिनाको तेस्रो सोमबार परेकाले पनि पशुपति क्षेत्रमा भक्तजनको चाप बढेको छ।
बाग्मती नदीको शिरोभाग सुन्दरीजलबाट शुद्ध जल ल्याएर भगवान् पशुपतिनाथलाई चढाउन बोल बम यात्रीहरूको पनि बाक्लो उपस्थिति रहेको छ। काठमाडौँ महानगरपालिका-१ स्थित नागपोखरीमा बिहानै नित्य पूजा सकेर भक्तजनका लागि पोखरी खुला गरिएको छ। वडा सदस्य रोशन श्रेष्ठका अनुसार नागपोखरीमा आज विशेष मेलाको आयोजनासमेत गरिएको छ।
कर्कोटक नागराजा र नागरानीको निवास मानिने कीर्तिपुरको टौदहमा पनि बिहानैदेखि कीर्तिपुर र पाँगाका स्थानीयवासी एवम् अन्य भक्तजनको घुइँचो लागेको छ। नित्यपूजापछि भक्तजनका लागि टौदह खुला गरिएको स्थानीय उपेन्द्र नेपालले बताए।
टौदहमा परम्परादेखि नै जल यज्ञ विधिबाट सबै नाग नागिनीको पूजा हुने गरेकामा २०७० सालपछि बन्द भएको थियो। विसं २०७२ मा एकपटक यो विधिबाट पूजा गरिए पनि हाल उक्त परम्परा लोप हुने खतरा बढेको छ। टौदहको व्यवस्थापन कर्कोटक नागराजा नागरानी व्यवस्थापन समाजले गर्दै आएको छ।