२०८३ श्रावण ३० गते , शनिबार

मिथिलाञ्चलमा आजदेखि झुलोनोत्सव पर्व सुरु

sajilo news
रासस
२०८३ श्रावण ३० गते , शनिबार
मिथिलाञ्चलमा आजदेखि झुलोनोत्सव पर्व सुरु

धनुषा । मिथिलाञ्चलमा आजदेखि झुलोनोत्सव (झुला) पर्व सुरु भएको छ । साउन शुक्ल तृतीयादेखि सुरु भई झुलोनोत्सव पूर्णिमासम्म जारी रहन्छ । झुलोनोत्सवमा मठमन्दिरमा सिंहासन निर्माण गरी सजाइएको गद्दीमा रामसीतासहित देवीदेउताका मूर्ति राखी झुलाउने परम्परा रहिआएको छ ।

मिथिलाको सांस्कृतिक पर्वका रूपमा चिनिने झुलोनोत्सवको सुरुआत सन्त परम्पराको प्रारम्भदेखि भएको पौराणिक मान्यता रहेको जानकी मन्दिरमा छोटे महन्थ रामरोसन दास वैष्णवले बताए । सन्तहरूले खुला चउर वा रुखको छहारीमा बास बसी झोलामा ल्याएको शालिग्रामलाई आसनमा राखी झुलाएको जनविश्वासका आधारमा मिथिलामा अहिलेसम्म पनि झुला उत्सवलाई निकै महत्वका साथ हेर्ने गरिएको उनको भनाइ छ ।

मिथिलाका प्रत्येक मठ मन्दिरमा झुलोनोत्सव मनाउने गरिए पनि जनकपुरधामको मठ मन्दिर आकर्षणको केन्द्रका रूपमा मानिन्छ । झुलोनोत्सवमा विशेषगरी भगवान् सीताराम र राधाकृष्णलाई आज साँझदेखि झुलामा झुलाइने परम्परा रहँदै आएको जानकी मन्दिरका छोटै महन्थ दासले बताए ।

जानकी मन्दिरसहित विभिन्न देवीदेवताको प्रतिमा रहेका प्रत्येक मठमन्दिरमा विशेष किसिमका सिंहासन निर्माण गरी सजाइएको गद्दीमा देवीदेवताको प्रतिमा राखी झुलाउने परम्परा छ । यस उत्सवमा जनकपुरधामका मन्दिरबिच उत्सवभर रोचक प्रतिस्पर्धा हुने गर्दछ । एकातर्फ भगवान् राम र जानकीलाई झुलामा राखी झुलाइने गरिन्छ भने अर्कोतर्फ नाटक, नाचगान, भजनकीर्तन र लोक कथा सुनाइने गरिन्छ ।

सम्बन्धित समाचार