मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय रमणीय मावि शिवसताक्षीका प्रधानाध्यापक शेर्माको मृत्यु
मोटरसाइकल दुर्घटनामा परी शिवसताक्षी नगरपालिका–११, दूधेस्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक गिरिराज शेर्माको मृत्यु भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका अनुसार आज दिउँसो करिब १ः३० बजे मोरङको केराबारीबाट धरानतर्फ जाँदै गरेको मे १२ प २०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डारी राजमार्गको दर्लामी चोकनजिक सडक किनारमा रहेको विद्युत् पोलमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक दमक नगरपालिका निवासी करिब ४५ वर्षीय शेर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल तीव्र गतिमा रहेको हुन सक्ने देखिएको छ। यद्यपि दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान जारी रहेको जनाइएको छ। प्रधानाध्यापक शर्माको असामयिक निधनले विद्यालय परिवार, विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रमा गहिरो शोक छाएको छ।