२०८३ श्रावण ९ गते , शनिबार

कोशी प्रदेशमा तस्करीको आरोपले सशस्त्रभित्र हलचल, एसपीदेखि जवानसम्म मुख्यालयको अनुसन्धानमा

sajilo news
झापा
२०८३ श्रावण ८ गते , शुक्रबार
कोशी प्रदेशमा तस्करीको आरोपले सशस्त्रभित्र हलचल, एसपीदेखि जवानसम्म मुख्यालयको अनुसन्धानमा

नेपाल–भारत सीमा क्षेत्रबाट तस्करी गराउने, घुमुवा परिचालन गरेर अवैध असुली गर्नेदेखि विभागीय अनुशासन उल्लंघन गरेको आरोपमा कोशी प्रदेशका विभिन्न जिल्लामा कार्यरत सशस्त्र प्रहरी बलका एसपीदेखि जवानसम्म मुख्यालय तानिएका छन् । उनीहरुमाथि सशस्त्र प्रहरी बलको मुख्यालयले आन्तरिक छानबिन गरिरहेको छ । 

सशस्त्र प्रहरी बल मुख्यालय हलचोकले झापा, सुनसरी र इलाममा कार्यरत अधिकृतहरूलाई जिम्मेवारीबाट हटाएर काठमाडौं बोलाएको हो । उनीहरूमाथि सीमा क्षेत्रमा लागुऔषध तथा अन्य मालवस्तुको तस्करीमा संलग्न समूहसँग मिलेमतो गर्दै घुमुवामार्फत रकम असुलेको आरोप लागेको छ । अनुसन्धानमा पर्ने अधिकृतहरूमा सशस्त्र प्रहरी बल झापाका प्रमुख एसपी अम्बिकाप्रसाद जोशी, सुनसरीका प्रमुख एसपी श्यामकुमार कार्की, प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर सुनसरीका डीएसपी शम्शेर कार्की, इलाममा कार्यरत डीएसपी लोकनाथ उप्रेती तथा सुनसरीको बीओपी लौकहीका इन्स्पेक्टर नरेन्द्र चन्द रहेका छन् । 

मुख्यालयका अनुसार सशस्त्रका जवानदेखि एसपीसम्म छानबिन एवं अनुसन्धानको दायरामा परेका हुन् । सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डीआईजी नेत्रबहादुर कार्कीले गम्भीर प्रकृतिका आरोप र प्राप्त गुनासाका आधारमा केही जिल्ला तथा युनिटका इन्चार्जलाई मुख्यालय तानेर आन्तरिक छानबिन तथा अनुसन्धान अघि बढाइएको पुष्टि गरे । उनका अनुसार अनुशासन उल्लंघन गर्ने, विभागीय नीति–नियम नमानी बदमासी गर्ने वा त्यस्तो आरोप लागेका कर्मचारीमाथि अनुसन्धान चलिरहेको छ । इन्चार्ज मात्र नभई अन्य पदका कर्मचारी पनि अनुसन्धानको दायरामा रहेको उनले बताए । विभिन्न सूचना, गुनासा तथा आन्तरिक अनुगमनका आधारमा जिम्मेवारीबाट हटाएर छानबिन गर्ने प्रक्रिया नियमित रहेको उल्लेख गर्दै उनले राम्रो काम गर्नेलाई पुरस्कृत र गलत काम गर्नेलाई कारबाही गर्ने नीति संगठनले निरन्तर अपनाउँदै आएको बताए । 

स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर २ हेडक्वार्टर झापाका प्रमुख रहेका एसपी अम्बिकाप्रसाद जोशी सशस्त्र प्रहरीका हवल्दार हरि मगरको बयानपछि अनुसन्धानको दायरामा परेका हुन् । मगर सशस्त्र प्रहरी बलको ३८ नम्बर रिजर्भ गण हेडक्वार्टर पाडाजुंगीमा कार्यरत रहँदा झापामा घुमुवाका रूपमा परिचालित थिए । उनले आफूले कोबाट कति रकम उठाएर कसलाई बुझाउने गरेको भन्ने विवरण बयानमा खुलाएको स्रोतको दाबी छ। 

त्यही बयानका आधारमा एसपी जोशीमाथि घुमुवा परिचालन गरेर तस्करीमा संलग्न समूहसँग मिलेमतो गर्दै असुली धन्दा सञ्चालन गरेको आरोपमा अनुसन्धान अघि बढाइएको हो । स्रोतका अनुसार मगरले ३८ नम्बर रिजर्भ गणका प्रमुख एसपी दिनेश बस्नेतलाई समेत रकम बुझाउने गरेको आरोप लाग्दै आएको छ । यद्यपि, बस्नेतलाई हालसम्म मुख्यालयले अनुसन्धानको दायरामा ल्याएको छैन ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टर सुनसरीका प्रमुख एसपी श्यामकुमार कार्कीलाई सशस्त्र प्रहरीका जवान पारस यादवलगायतका कर्मचारीको बयानपछि मुख्यालय बोलाइएको स्रोतले जनाएको छ । उनीमाथि घुमुवा परिचालन गरेर नेपाल–भारत सीमा क्षेत्रमा तस्करीको लाइन सञ्चालन गरेको आरोप छ । यादवलाई यसअघि नै मुख्यालय तानेर बयान लिइसकिएको थियो । अनुसन्धानमा संलग्न स्रोतका अनुसार घुमुवामार्फत विभिन्न मालवस्तु तथा लागुऔषधको तस्करी गराएर रकम असुलेको आरोपमा कार्कीमाथि छानबिन भइरहेको छ । 

प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरका डीएसपी शम्शेर कार्कीमाथि पनि सीमा क्षेत्रमा तस्करीको लाइन सञ्चालन गर्न सहयोग गरेको र लागुऔषध तस्करसँग मिलेमतो गरी रकम असुलेको आरोप लागेको छ । पछिल्लो समय हरिपुर नाकाबाट नेपालबाट भारततर्फ गाँजा तथा भारतबाट नेपालतर्फ लागुऔषध, लत्ताकपडा, खाद्यान्न र दैनिक उपभोग्य वस्तुको अवैध ओसारपसार बढेको थियो । त्यसमा सशस्त्र प्रहरीले सहजीकरण गरेको आरोप लागेपछि उनी अनुसन्धानमा तानिएका हुन् । काँकडभिट्टामा कार्यरत रहँदा पनि डीएसपी कार्कीले तस्करीको लाइन सञ्चालन गरेको आरोप लागेको थियो । ‘विशेष गरेर काँकडभिट्टाको विषयलाई लिएर तानिएको हो ।

सुनसरीमा पनि बदमासी देखिएपछि अनुसन्धान अघि बढाइएको हो,’ मुख्यालय स्रोतले भन्यो । हाल इलाममा कार्यरत डीएसपी लोकनाथ उप्रेतीमाथि झापाको काँकडभिट्टास्थित प्रस्तावित सीमा सुरक्षा गुल्मको इन्चार्ज हुँदा वरिष्ठ हवल्दार केशव गुरुङलाई घुमुवाका रूपमा परिचालन गरेर अवैध धन्दा सञ्चालन गरेको आरोप छ । गुरुङ यसअघि नै मुख्यालय तानिएका थिए । उनकै बयानका आधारमा उप्रेतीलाई पनि मुख्यालय बोलाएर अनुसन्धान सुरु गरिएको स्रोतले जनाएको छ । 

सुनसरीको बीओपी लौकहीका इन्स्पेक्टर नरेन्द्र चन्दमाथि पनि लागुऔषध तथा अन्य मालवस्तुको तस्करी गराएर रकम असुलेको आरोप लागेको छ । तस्कर समूहसँग साँठगाँठ गरेर अवैध असुली गरेको विषयमा उनीमाथि अनुसन्धान भइरहेको स्रोतको भनाइ छ । उनी विगतदेखि नै विवादित सशस्त्र अधिकृतका रूपमा चिनिँदै आएका छन् ।

झापा र सुनसरीका प्रमुखमाथि अनुसन्धान भइरहे पनि ती जिल्लामा सशस्त्रका नयाँ प्रमुख पठाइएको छैन । हाल झापामा डीएसपी मदन रसाइली र सुनसरीमा डीएसपी कृष्ण श्रेष्ठले निमित्त प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । डीआईजी कार्कीले अनुसन्धानका क्रममा आरोप पुष्टि भए कारबाही गरिने र गलत नदेखिए सम्बन्धित अधिकृतलाई पुनः जिम्मेवारीमा फर्काइने बताए । उनका अनुसार जवानदेखि एसपीसम्मलाई आवश्यकताअनुसार मुख्यालय तानेर अनुसन्धान गर्ने अभ्यास विभागमा रहँदै आएको छ ।

झापाबाट काठमाडौं बोलाइएका एसपी अम्बिकाप्रसाद जोशीले भने आफूलाई छानबिनका लागि नभई तालिम, गोष्ठी तथा सीमासम्बन्धी केही विषयमा छलफल गर्न बोलाइएको दाबी गरे । उनले आफूविरुद्ध अनावश्यक हल्ला फैलाइएको भन्दै सञ्चारमाध्यमले आफ्नो भनाइ नलिई समाचार प्रकाशित गरेको गुनासो गरे । ‘मलाई केही अफिसियल विषयमा बुझ्न बोलाइएको हो । छानबिनका लागि तानिएको भन्ने कुरा गलत हो । पत्रकारले पनि नबुझी समाचार बनाइदिन्छन् । जसले जे लेखे पनि हुने रहेछ,’ उनले भने । आफ्नो भनाइ नसुनी समाचार लेखिएको भन्दै उनले यसले व्यक्तिगत मर्यादामा आघात पुर्‍याएको गुनासो पनि गरे । 

सुनसरीका एसपी श्यामकुमार कार्कीले पनि मुख्यालयबाट केही विषय बुझ्नुपर्ने भन्दै पत्र आएपछि काठमाडौं गएको बताए । उनले घुमुवा परिचालन गरेर पैसा उठाएको आरोप अस्वीकार गर्दै सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रण गर्न, सूचना संकलन गर्न र सामान बरामद गर्न घुमुवा परिचालन गरिने बताए । ‘मैले कुनै अवैध रकम लिएको छैन । सशस्त्रले सीमा क्षेत्रमा धेरै मिहिनेत गरेर काम गरिरहेको थियो । मैले पैसा खाएको प्रमाण भेटिए कारबाही भोग्न तयार छु,’ कार्कीले भने । 

सीमा सुरक्षा र चोरी–तस्करी नियन्त्रणको मुख्य जिम्मेवारी सशस्त्र प्रहरीसँग भए पनि पछिल्लो समय तस्करी र अवैध असुलीका घटनामा सशस्त्रसहित नेपाल प्रहरीका कर्मचारीसमेत विवादमा तानिने क्रम बढ्दो छ । विशेष गरी झापा र सुनसरीबाट तस्करी बढेको भन्दै स्थानीय तहका जनप्रतिनिधि र सर्वसाधारणबाट गुनासो बढिरहेको छ । सीमा क्षेत्रमा तस्करी रोक्नुको सट्टा आर्थिक लाभ लिएर अवैध कारोबारलाई सहज बनाइएको आरोप सुरक्षा निकायमाथि लाग्दै आएको छ । स्थानीय जनप्रतिनिधिहरूका अनुसार नेपाल–भारत सीमाबाट विभिन्न वस्तुको अवैध ओसारपसारमा संगठित सञ्जाल सक्रिय छ ।

यसको प्रत्यक्ष असर वैध व्यवसायी र कानुनी रूपमा व्यापार गर्ने व्यापारीमाथि परेको छ भने राज्यले उठाउनुपर्ने लाखौं रुपैयाँ राजस्वसमेत गुमिरहेको छ । यसले सीमा सुरक्षा प्रणाली, सुशासन, आर्थिक अनुशासन र सुरक्षाकर्मीप्रतिको जनविश्वासमाथि पनि गम्भीर प्रश्न उठाएको छ । यद्यपि सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कार्कीले सीमा क्षेत्रमा हुने तस्करी र अवैध गतिविधिप्रति संगठनले शून्य सहनशीलताको नीति अपनाएको बताए । गलत काममा मिलेमतो गरेर अवैध धन्दा सञ्चालन गर्ने जो–कोहीलाई पनि छुट नदिइने उनले स्पष्ट पारे । 

सम्बन्धित समाचार