२०८३ श्रावण ५ गते , मंगलबार

मेचीनगर–३ नम्बर वडा कार्यालयमा तालाबन्दी, सडक बत्तीमा ३ लाख अनियमितताको आरोप

sajilo news
झापा
२०८३ श्रावण ४ गते , सोमबार
मेचीनगर–३ नम्बर वडा कार्यालयमा तालाबन्दी, सडक बत्तीमा ३ लाख अनियमितताको आरोप

झापा । झापाको मेचीनगर नगरपालिका–३ वडा कार्यालयमा सोमबार स्थानीय युवाले तालाबन्दी गरेका छन्। सडक बत्ती जडानका लागि विनियोजित करिब ३ लाख रुपैयाँमा अनियमितता भएको आरोप लगाउँदै उनीहरूले निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेका हुन्।

आन्दोलनमा सहभागी स्थानीय युवाहरूले वडा अध्यक्षले कार्यसमितिको निर्णयविपरीत योजना सञ्चालन गरेको, उपभोक्ता समिति गठनमा मनपरी गरेको तथा सडक बत्ती जडानका लागि छुट्याइएको बजेट हिनामिना गरेको आरोप लगाएका छन्।

स्थानीय युवा जनजीर कटेलका अनुसार सडक बत्ती योजनाका लागि विनियोजित रकम अनियमित रूपमा निकासा गरिएको विषयमा यसअघि नै नगर प्रमुख गोपालचन्द्र बुढाथोकीलाई जानकारी गराइएको थियो। तर, पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समस्या समाधानका लागि कुनै ठोस पहल नभएको र मागप्रति बेवास्ता गरिएको भन्दै विरोधस्वरूप वडा कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको उनले बताए।

कटेलले सडक बत्ती योजनामा भएको भनिएको आर्थिक अनियमितताबारे निष्पक्ष छानबिन गरी दोषी प्रमाणित भए कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

स्थानीयवासीले सार्वजनिक बजेटको पारदर्शी परिचालन र योजनाको निष्पक्ष कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने बताएका छन्।

उक्त घटनापछि मेचीनगर–३ मा स्थानीय तहको बजेट पारदर्शिता, योजना कार्यान्वयन प्रक्रिया र जनप्रतिनिधिको जबाफदेहितामाथि प्रश्न उठेको छ। यस विषयमा वडा कार्यालय वा मेचीनगर नगरपालिकाले आफ्नो आधिकारिक धारणा भने सार्वजनिक गरेका छैनन् ।

सम्बन्धित समाचार