प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट पैदल यात्री घाइते
झापाको अर्जुनधारामा प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन् । गएराति ८;५० बजे इलाम माईजोगमाई वडा न.५ बस्ने प्रहरी चौकी सम्दु तेह्रथुम दरबन्दी भई इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत ३० वर्षीय प्रहरी जवान रोजन राई आफन्त भेटघाटको लागि शनिश्चरेतर्फ प्र.१–०२–०४४ प.१९५३ न.को मोटरसाइकलमा जाने क्रममा अर्जुनधारा वडा न.९ चारघरेस्थित भित्री सडकखण्डमा उक्त मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
बाटो क्रस गर्दै गरेका पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय कृष्ण खनाललाई ठक्कर दिएको हो । टाउको र बायाँ खुट्टामा चोट लागेका घाइते खनाललाई शनिश्चरेस्थित शंकर अस्पतालमा सामान्य उपचारपश्चात् बिर्तामोडस्थित मनमोहन अस्पतालमा ल्याई थप उपचार भइरहेको छ । उनको उपचारमा मोटरसाइकल चालक राई संलग्न रहेका छन् । प्रहरी चौकी शनिश्चरेले मोटरसाइकल नियन्त्रणमा लिएको छ ।