२०८३ श्रावण २ गते , शनिबार

हृदयविदारक घटना : पतिलाई दूधमा निद्राको औषधि मिसाएर खुवाइन् र विषालु सर्पले डसाएर हत्या

sajilo news
एजेन्सी
२०८३ श्रावण २ गते , शनिबार
हृदयविदारक घटना : पतिलाई दूधमा निद्राको औषधि मिसाएर खुवाइन् र विषालु सर्पले डसाएर हत्या

भारत ।  उत्तर प्रदेशको मेरठमा एउटा हृदयविदारक घटना घटेको छ । जहाँ एक महिलाले ड्राइभरसँगको प्रेम सम्बन्धका कारण आफ्नै पतिको हत्या गराएको आरोप लागेको छ । उनले पतिलाई दूधमा निद्राको औषधि मिसाएर खुवाइन् र विषालु सर्पले डसाएर हत्या गरेको बताइएको छ ।

प्रहरीका अनुसार ती महिलाले करिब एक वर्षदेखि देशभर भएका पति हत्या घटनाहरूको अध्ययन गरिरहेकी थिइन् । उनले इन्टरनेटमा ‘परफेक्ट क्राइम’ अर्थात् प्रमाण नछोडी अपराध गर्ने तरिकाबारे जानकारी खोज्ने गरेकी थिइन् । साथै पुराना घटनाहरूमा प्रहरीले कसरी अपराधीलाई पक्राउ गर्‍यो भन्ने विषयमा पनि अध्ययन गरिरहेकी थिइन् ।

यही कारण मेरठको सर्प काण्ड दोहोर्‍​​​​​​याउन उनलाई सजिलो लागेको बताइएको छ । तर यस पटक उनले र उनका प्रेमी तुषारले पुराना घटनाका गल्ती नदोहोर्‍याएको दाबी गरिएको छ । दामिनीले सन् २०१९ मा अतुलसँग प्रेम विवाह गरेकी थिइन् । सुरुका केही समय उनीहरूको वैवाहिक जीवन राम्रो चलिरहेको थियो । तर दामिनीका अनुसार विवाहको दुई वर्षपछि अतुलले उनलाई कुटपिट गर्न थाले र यातना दिन थाले । पतिको व्यवहारबाट आफू निकै पीडित भएको उनले बताएकी छन् ।

करिब एक वर्षअघि उनको तुषारसँग प्रेम सम्बन्ध सुरु भएको थियो । त्यसपछि उनीहरूले अतुललाई बाटोबाट हटाउने योजना बनाउन थालेको प्रहरी अनुसन्धानमा उल्लेख छ । दामिनीले देशभर भएका चर्चित पति हत्या घटनाहरू इन्टरनेटमार्फत अध्ययन गर्न थालेकी थिइन् । यस्ता घटनाहरूमा नजर राख्नुका साथै उनले पत्रपत्रिकामा आएका समाचारहरू पनि पढ्ने गरेकी थिइन् ।

मेरठको नीला ड्रम केस अर्थात् सौरभ हत्याकाण्डमा साहिल र मुस्कानले गरेको घटनालाई उनले सुरुदेखि अन्त्यसम्म हेरेकी थिइन् । त्यस्तै बहसुमा क्षेत्रमा भएको सर्प काण्ड, इन्दौरका राजा रघुवंशीलाई उनकी पत्नी सोनम राजवंशीले मेघालय लगेर हत्या गराएको घटनाबारे पनि उनले जानकारी लिएको बताइएको छ । यसैगरी पुणेमा केतनलाई उनकी मंगेतर सिया गोयलले प्रेमी चेतन चौधरीसँग मिलेर किल्लाबाट तल धकेलेर हत्या गरेको घटनाबारे पनि दामिनीलाई जानकारी रहेको अनुसन्धानमा खुलेको छ । 
 

सम्बन्धित समाचार