आज साउने संक्रान्ति, देशभरका शिवालयमा दर्शनार्थीको घुँइचो
आज साउने संक्रान्ति पर्व देशभर परम्पराअनुसार स्नान, दान, आफन्तसँगको भेटघाट तथा विभिन्न सांस्कृतिक र धार्मिक गतिविधिसहित मनाइँदै छ।
सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने संक्रान्तिका रूपमा मनाउने परम्परा छ। आजकै दिनदेखि सूर्यको दक्षिणायन यात्रा सुरु हुने जनविश्वास रहिआएको छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई हिन्दू धर्मावलम्बीहरूले विशेष महत्वका साथ मनाउने गर्दछन्।
असार महिनाभर धान रोपाइँमा व्यस्त रहने किसान तथा सर्वसाधारणले हिलो र मैलोका कारण लाग्नसक्ने छालासम्बन्धी रोगबाट बच्ने विश्वासका साथ साउने संक्रान्तिमा ‘लुतो फाल्ने’ परम्परा पनि रहिआएको छ।
परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती लगायत औषधीय गुण भएका वनस्पति प्रयोग गरी कण्डारक नामक राक्षसको प्रतीकात्मक पूजा गरि अगुल्टो बाहिर फाल्दा रोगव्याधि र अशुभ शक्तिलाई घरबाट हट्ने जनविश्वास रहेको छ।
लुतो फाल्ने क्रममा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्टी बजाउने तथा घरका ढोका बन्द गर्ने चलनपनि नेपाली समाजमा अझै कायम छ।
साउन महिना भगवान् शिवको आराधनाका लागि विशेष मानिन्छ। विशेषगरी महिलाहरू हरिया चुरा, हरिया वस्त्र तथा मेहन्दी लगाएर साउनको स्वागत गर्ने परम्परा रहेको छ, जसलाई हरियाली, समृद्धि र सौभाग्यको प्रतीकका रूपमा लिइन्छ।
साउन महिनाभर काठमाडौंस्थित पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा दर्शन र पूजा–आराधनाका लागि दर्शनाथीको घुइँचो लागेको छ। विशेषगरी साउन महिनाको सोमबारलाई भगवान् शिवको प्रिय बार मानिने भएकाले साउनका सोमबारहरूमा शिवालयहरूमा भक्तजनको चहलपहल बढ्ने गर्दछ।
यस वर्ष साउन महिनामा चार वटा सोमबार परेकाले ती दिन शिवालयहरूमा विशेष पूजा, जलाभिषेक र भक्तजनको ठूलो भीडलाग्ने अनुमान गरिएको छ।