२०८३ श्रावण २ गते , शनिबार

मेचीनगर नगरपालिकाको बेरुजु रकम १५ करोड, ३५ दिनभित्र दाखिला गर्न निर्देशन

sajilo news
झापा
२०८३ श्रावण १ गते , शुक्रबार
मेचीनगर नगरपालिकाको बेरुजु रकम १५ करोड, ३५ दिनभित्र दाखिला गर्न निर्देशन

सबैभन्दा बढी करिब १५ करोड बेरुजु देखिएको मेचीनगर नगरपालिकाले ३५ दिनभित्रमा बेरुजु रकम दाखिला गर्न सरोकारवालाहरूलाई निर्देशन दिएको छ । दाखिला नगरे जायजेथाबाट असुल गरिने भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले सूचना जारी गर्दै नगरपालिकाको बेरुजु लगत उल्लेख भएका व्यक्ति, सङ्घसंस्था, उपभोक्ता समिति, निर्माण व्यवसायी र सरोकारवालाहरूलाई ३५ दिनभित्रमा नगरपालिकाको आर्थिक प्रशासन शाखा वा आन्तरिक लेखा परीक्षण शाखामा आई बेरुजुको रकम दाखिला गर्न वा फछर्याैटको प्रमाण पेश गर्न सूचित गरेका छन् ।

नियमित प्रक्रियाबाट फछर्याैट नभएका बेरुजुहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४७ र ४८ बमोजिम सरकारी बाँकीको रूपमा रही जायजेथाबाट असुल गरिने सूचनामा उल्लेख छ ।

मेचीनगर नगरपालिकामा ३.१९ प्रतिशत अर्थात् १४ करोड ९९ लाख ५५ हजार रुपैयाँ बेरुजु देखिएको हो । बढी बेरुजु रकम मेचीनगर नगरपालिकामा देखिएपनि प्रतिशतका आधारमा बिर्तामोड नगरपालिकामा सबैभन्दा धेरै हो । महालेखा परीक्षकको प्रतिवेदनले झापाका १५ वटा पालिकामध्ये सबैभन्दा बढी बिर्तामोड नगरपालिकामा बेरुजु देखाएको छ । महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा परीक्षण गरिएको रकममध्ये सबैभन्दा बढी ३.२२ प्रतिशत बेरुजु बिर्तामोड नगरपालिकामा देखिएको छ । ३ अर्ब ३४ करोड ६० हजार रकमको परीक्षण गर्दा १० करोड ७४ लाख २३ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

सम्बन्धित समाचार