२०८३ असार १७ गते , बुधबार
आजदेखि मनसुन प्रणाली देशभर फैलियो
यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष मनसुन सरदर मिति भन्दा ६ दिन ढिलो नेपाल प्रवेश गरेको थियो। देशैभर मनसुन विस्तार हुन यस वर्ष १२ दिन लागेको छ।
नेपालमा यस वर्षको मनसुन जुन १९ मा देशको पूर्वी भू-भागबाट प्रवेश गरी कोशी प्रदेशको केही भू-भागमा विस्तार भएको थियो। जुन २२ मा कोशी प्रदेशको बाँकी सम्पूर्ण भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमासम्म विस्तार भएको थियो। नेपालमा मनसुन साधारणतया जुन १३ तारिखमा देशको पूर्वी भू-भागबाट प्रवेश गरी एक हप्ता भित्र विस्तार हुने गर्छ।