२०८३ असार ८ गते , सोमबार

तरकारी र दुग्ध व्यवसायबाट आत्मनिर्भर बन्दै अर्जुनधाराका मिश्र दम्पती

sajilo news
झापा
२०८३ असार ८ गते , सोमबार
तरकारी र दुग्ध व्यवसायबाट आत्मनिर्भर बन्दै अर्जुनधाराका मिश्र दम्पती

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–१० सिमलचोकका कृषक दम्पती भानु मिश्र र इन्दिरा मिश्रले सञ्चालन गरेको मिश्र कृषि फार्म आधुनिक तथा एकीकृत कृषिको नमुना बन्दै गएको छ। उनीहरूले १ बिघा जग्गामा वैज्ञानिक प्रविधिमार्फत व्यावसायिक तरकारी खेती र दुग्ध व्यवसाय सञ्चालन गर्दै आएका छन्। फार्ममा प्लास्टिक मल्चिङ र टाँड (ट्रेलिस) प्रणालीको प्रयोग गरिएकाले उत्पादन वृद्धि हुनुका साथै श्रम तथा लागतसमेत घटेको छ।

प्लास्टिक मल्चिङ प्रविधिबाट माटोको चिसोपना जोगिनुका साथै सिँचाइको पानी बचत भएको छ। यसले झारपात नियन्त्रणमा समेत मद्दत पुर्‍याएको छ। त्यसैगरी बाँस र सुतली प्रयोग गरी बनाइएको टाँड प्रणालीले लहरे बालीलाई व्यवस्थित बनाउँदै रोग–किराको जोखिम कम गरेको छ।

तरकारी खेतीसँगै फार्ममा दुग्ध व्यवसाय पनि फस्टाउँदै गएको सञ्चालक भानु मिश्र बताउँछन् । उनका अनुसार हाल फार्मबाट दैनिक ३० लिटर दूध उत्पादन भइरहेको छ। पशुपालनबाट प्राप्त मल तरकारी खेतीमा प्रयोग गरिने र तरकारीका अवशेष पशुचौपायालाई खुवाइने भएकाले उत्पादन लागत घट्नुका साथै प्राङ्गारिक उत्पादनमा समेत टेवा पुगेको छ।

मिश्र दम्पतीको मेहनत र आधुनिक प्रविधिको प्रयोगले गाउँमै बसेर कृषि व्यवसायबाट आत्मनिर्भर बन्न सकिने सन्देश दिएको छ। फार्मलाई थप विस्तार गर्न, आधुनिक कृषि उपकरण खरिद गर्न तथा उत्पादनको बजार व्यवस्थापनका लागि स्थानीय सरकारको प्राविधिक र आर्थिक सहयोग आवश्यक रहेको सञ्चालक मिश्रको भनाई छ । स्थानीय सरकार तथा जनप्रतिनिधिहरूले समेत फार्मको अवलोकन गर्दै यसलाई सफल एकीकृत कृषि मोडेलका रूपमा चासोका साथ हेर्न थालेका छन्।

सम्बन्धित समाचार