बिर्तामोडमा घरायसी विवादपछि श्रीमतीमाथि रड प्रहार, श्रीमानले गरे हाम्फालेर आत्महत्या
झापाको बिर्तामोडमा घरायसी विवादपछि एक वृद्धले आफैँ घरको तेस्रो तलाबाट हाम्फालेर आत्महत्या गरेका छन् । शुक्रबार बिहान ५ः३० बजेको समयमा आफ्नी श्रीमतीलाई फलामको रडले प्रहार गरी घाइते बनाए लगत्तै वृद्धले हाम्फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोड नगरपालिका–५ अन्नपूर्ण चोकका ७२ वर्षीय घिरेन राजवंशीले घरायसी विवादका क्रममा आफ्नी ६५ वर्षीया श्रीमती गंगामुनी राजवंशीको पेटमा फलामको रडले प्रहार गरेका थिए। घटनामा गम्भीर घाइते भएकी गंगामुनीलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो।
श्रीमतीलाई घाइते बनाएपछि घिरेन घरको तीन तला माथिबाट हाम्फालेका थिए। हाम्फाल्दा उनको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको थियो। उनलाई पनि उपचारका लागि बिर्तासिटी अस्पताल पुर्याइएको थियो। उनको उपचारकै क्रममा बिहान ६ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते गंगामुनीको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।