महिलालाई पोलमा बाँधेर कालोमोसो दल्ने पाँच जनामाथि अमानवीय मुद्दा
झापाको बिर्तामोडमा एक महिलालाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दलेपछि आगो लगाउन खोज्ने पाँच जनामाथि अमानवीय व्यवहार गरेको कसूरमा मुद्दा दायर गरिएको छ । पक्राउ परेका अभियुक्तहरूमाथि भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसूरमा मुद्दा दायर गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रञ्जन अवाले बताए । अवाले उनीहरूलाई हिजो जिल्ला अदालतमा उपस्थित गराई अदालतबाट ७ दिनको म्याद प्राप्त गरी अनुसन्धान जारी रहेको जानकारी दिए ।
पीडितहरूले इलाका प्रहरी कार्यालय बिर्तामोडमा अभद्र व्यवहारसम्बन्धी जाहेरी दिएका थिए । अभद्र व्यवहार सम्बन्धी जाहेरी फितलो भएकाले प्रहरीले अभद्रको सट्टा अलिक गम्भीर प्रकृतिको भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसूरमा मुद्दा दायर गरेको हो ।
जेठ २९ गते साँझ ६.३० बजे बिर्तामोड –२ चारपाने बस्ने २१ वर्षीया सबिना राजवंशीलाई पुरानो रिसइबीका कारण बिजुलीको पोलमा हात बाँधेर कालोमोसो दलेका थिए । कालोमोसो दल्ने पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कनकाई .८ बस्ने वर्ष १८ का समीर मुर्मु , सोही ठाउँ बस्ने वर्ष २० की सबिना मुर्मु, वर्ष २५ की स्वस्तिका मुर्मु , वर्ष १९ की पूजा बस्नेत र बिर्तामोड २ बस्ने ४४ वर्षीया मञ्जु हस्दा रहेका छन् ।
उनीहरू सुनियोजित रुपमा सविनामााथि आक्रमण गर्न आएका थिए । सविनाको चरित्रमाथि लाञ्छना लगाउने शब्द लेखिएका १६ वटा पम्प्लेट बोकेर आएका उनीहरूले चारपानेको बेलडाँगी जाने बाटोमा सामूहिक रुपमा आक्रमण गरेका हुन् । सडक छेउमा रहेको बिजुलीको पोलमा हात बाँधेर उनीहरूले सविनाको पुरै अनुहार र शरीरमा कालो मोबिलको बट्टाको मोसो दलेका थिए ।