असममा भारतीय सेनाको विमान दुर्घटनाग्रस्त
असमको जोरहाटस्थित भारतीय वायुसेनाको एयरबेसमा शनिबार एएन–३२ मालवाहक विमान दुर्घटनाग्रस्त भएको छ । अवतरणका क्रममा विमानमा आगलागी भएपछि यो दुर्घटना भएको हो ।
प्रारम्भिक जानकारीअनुसार विमानले एयरबेसको रनवेमा सुरक्षित अवतरण गरेको थियो । तर अवतरण लगत्तै विमानबाट अचानक आगोको मुस्लो निस्किएको देखिएपछि दुर्घटना भएको हो । आगलागी सुरु हुनासाथ एयरबेसभित्र दौडधूप मच्चिएको थियो र वायुसेनाको आपतकालीन उद्धार टोली तत्काल परिचालन गरिएको थियो ।
घटनाको जानकारी प्राप्त हुनासाथ एयरबेसका दमकल गाडीहरू र द्रुत प्रतिक्रिया टोली घटनास्थलमा पुगेका थिए । आगो नियन्त्रणमा लिन तथा विमानमा सवार चालक दल र अन्य कर्मीलाई सुरक्षित रूपमा बाहिर निकाल्न तत्काल उद्धार अभियान सञ्चालन गरिएको थियो । हालसम्म भारतीय वायुसेनाले विमानमा सवार व्यक्तिहरूको अवस्था तथा दुर्घटनाको वास्तविक कारणबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।