झापामा महिलालाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चारजना पक्राउ
झापाको बिर्तामोड –२ चारपाने चोकमा महिलालाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ परेका छन् । हिजो साँझ ६.३० बजे बिर्तामोड –२ चारपाने बस्ने २१ वर्षीया सबिना राजवंशीलाई पुरानो रिसिबिको कारण बिजुलीको पोलमा हात बाँधेर चार जनाले कालोमोसो दलेका थिए । पक्राउ पर्नेहरूमा कनकाई-८ बस्ने वर्ष १८ का समीर मुर्मु , सोही ठाउँ बस्ने वर्ष २० की सबिना मुर्मु, वर्ष २५ की स्वस्तिका मुर्मु र वर्ष १९ की पूजा बस्नेत रहेका छन् ।
स्थानीय मानिसहरूले कालोमोसो दलेको खबर इलाका प्रहरी कार्यालय अनारमनिमा गरेपछि प्रहरी सहायक निरीक्षक नम्भुकुमार माझीको कमान्डमा टोली खटिएर उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट कालो मोबिलको बट्टा र पम्प लेटहरू जम्मा १६ वटा बरामद भएको जनाइएको छ ।
कालोमोसो दल्नेहरूलाई इलाका प्रहरी कार्यालय अनारमनिमा ल्याई थप अनुसन्धान भइरहेको छ । सबिना राजवंशीको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।