२०८३ जेष्ठ २९ गते , शुक्रबार

भद्रपुरमा 'शुद्ध नृत्य युद्ध'को ग्राण्ड फिनाले भोलि, 'टप १०' प्रतिस्पर्धीबीच उपाधि भिडन्त

sajilo news
पार्थ मण्डल
२०८३ जेष्ठ २९ गते , शुक्रबार
भद्रपुरमा 'शुद्ध नृत्य युद्ध'को ग्राण्ड फिनाले भोलि, 'टप १०' प्रतिस्पर्धीबीच उपाधि भिडन्त

भद्रपुर । झापाको भद्रपुरमा ‘शुद्ध नृत्य युद्ध– द प्युरेस्ट डान्स शो डाउन’ को भव्य ग्राण्ड फिनाले भोलि (शुक्रबार) हुने भएको छ ।

विद्यार्थीभित्र रहेको नृत्य प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले नृत्यालय स्कुल अफ डान्स भद्रपुरको आयोजनामा सो नृत्य प्रतियोगिता हुन लागेको हो ।  प्रतियोगिताको 'टप १० फाइनलिस्ट' भद्रपुर– १ स्थित सोमबारेस्थित ग्यालेक्सी पार्टी प्यालेसमा प्रतिस्पर्धामा उत्रिँदैछ ।  नृत्यालय (स्कुल अफ डान्स) भद्रपुरका फाउन्डर सक्षम तामाङले मोफसलमा लुकेर रहेका नृत्य प्रतिभालाई आफ्नो कला र क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताएका छन् । 

प्रतियोगितामा जुनियर तहदेखि एसइईसम्मका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । प्रतियोगिताका लागि गत जेठ ८ गतेदेखि अडिसन प्रक्रिया सुरु गरिएको थियो । 

बनियानी, भद्रपुर, चन्द्रगढी, गोलधाप तथा बिर्तामोडमा सम्पन्न अडिसनमा ७० जना प्रतिस्पर्धी छनोट भएका थिए । दोस्रो राउन्डमा तीमध्ये ३६ जना छनोट भई जेठ १६ गते सम्पन्न सेमिफाइनल राउण्डमा टप १० फाइनलिस्ट छनोट भएको स्कुल अफ डान्स फाउन्डर तामाङले बताए । 

ग्रान्ड फिनालेमा ओमालिसा मेचे, सालिन मगर, खुसाङ तामाङ, सन्दिपा नेम्बाङ, सरस्ता राउत, दृशा रिजाल, अर्पण घिमिरे, सेम हाङ्मा लिम्बु, सुजाता भट्टराई र रुस्ना कान्दाङ्वा बीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विजेताले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगदसहित ट्रफी, गिफ्ट हैम्पर, छात्रवृत्ति लगायत प्राप्त गर्नेछ । 

फाउन्डर तामाङका अनुसार नृत्य क्षेत्रमा शुद्धता, निष्पक्षता र वास्तविक प्रतिभाको सम्मान गर्नु आजको आवश्यकता हो । “राम्रोलाई होइन, हाम्रोलाई जिताउने” प्रवृत्तिलाई अन्त्य गर्दै योग्य प्रतिभालाई नै सम्मानित गर्ने लक्ष्यसहित प्रतियोगिता सञ्चालन गरिएको उनको भनाई छ । प्रतियोगिताको मूल्याङ्कन निष्पक्ष र पारदर्शी बनाउन झापा जिल्ला बाहिरबाट चार जना अनुभवी निर्णायक (जर्ज) आमन्त्रण गरिएको स्कुल अफ डान्सका डाइरेक्टर सुस्मिता राईले बताइन् ।  

फिनालेमा विभिन्न शैलीका आकर्षक नृत्य प्रस्तुति रहने तथा निर्णायकहरूको विशेष मूल्याङ्कनका आधारमा विजेता घोषणा गरिने जनाइएको छ । स्थानीय स्तरका प्रतिभालाई राष्ट्रिय मञ्चसम्म पु¥याउने लक्ष्यसहित आयोजना गरिएको प्रतियोगिताको ग्राण्ड फिनाले अवलोकन गर्न नृत्य प्रेमी, अभिभावक तथा सर्वसाधारणलाई उपस्थित हुन आयोजकले आग्रह समेत गरेको छ ।

त्यस्तै प्रतियोगितामा पहिलो पुरस्कार राशि र ट्रफि दिने कार्कीज केक चारआलीका सञ्चालक विकास कार्की र दोस्रो पुरस्कार प्रदान गर्ने ग्रीनफिल्ड इङ्लिस स्कूलका प्रिन्सिपल सन्देश राईले यस्ता प्रकारका प्रतियोगिताले विद्यार्थीहरूमा रहेको प्रतिभा प्रस्फुटन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्। उनीहरूले नृत्य, सङ्गीत तथा अन्य सिर्जनात्मक क्षेत्रमा युवापुस्तालाई प्रोत्साहन गर्न यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् ।

सम्बन्धित समाचार