२०८३ जेष्ठ २९ गते , शुक्रबार

तापक्रम ह्वात्तै घट्यो, ठाउँ-ठाउँमा भारी वर्षा

sajilo news
रासस
२०८३ जेष्ठ २८ गते , विहीबार
तापक्रम ह्वात्तै घट्यो, ठाउँ-ठाउँमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले तापक्रम ह्वात्तै घटेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार देशमा सबैभन्दा उच्च तापक्रम भैरहवामा ३२.६ र धनगढीमा ३२.३ डिग्री रहेको छ । तापक्रम घट्दा देशभर शीतल महसुस भएको छ ।

अन्य जिल्लामा त्योभन्दा कम नै तापक्रम रहेको छ । तीन दिन अघि केही जिल्लामा ४१ डिग्री नाघेको तापक्रम बिहीबार घटेको हो । यसैबिच आज पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा भारी वर्षा भएको छ । विभागका अनुसार धनुषा महोत्तरी, बारा, मोरङ, मकवानपुर, नवलपरासी पूर्व, तनहुँलगायत जिल्लाका केही मापन केन्द्रमा भारी वर्षा मापन भएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले आज साँझ जारी गरेको बुलेटिनअनुसार आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।

विभागका सूचना अधिकारी दिनकर कार्यस्थका अनुसार जेठ २९ गते शुक्रबार कोशी, मधेस र बागमती प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी तराई भू–भागमा आंशिक बादल लाग्ने जनाइएको छ ।

कोशी र मधेस प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरू तथा बागमती, सोही कारण गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको जनाइएको छ ।

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ ।

सम्बन्धित समाचार