२०८३ जेष्ठ २९ गते , शुक्रबार

चाइनिज फर्सीको बिउँ तस्करी : नियन्त्रणमा लिन खोज्दा झडप, ६ जना घाइते

sajilo news
झापा
२०८३ जेष्ठ २८ गते , विहीबार
चाइनिज फर्सीको बिउँ तस्करी : नियन्त्रणमा लिन खोज्दा झडप, ६ जना घाइते

नेपाल–भारत सीमावर्ती क्षेत्रमा ठूलो परिमाणमा लुकाइछिपाइ राखिएको चाइनिज फर्सीको बिउ नियन्त्रणमा लिन खोज्दा प्रहरी र स्थायबीच झडप भएको छ।

रौतहटको बौधीमाई नगरपालिका–७ बाडा बंकुल टोलस्थित सीमावर्ती क्षेत्रमा झडपका क्रममा प्रहरीसहित ६ जना घाइते भएका छन्।  शुक्रबार साँझ मस्जिद पछाडि सीमावर्ती बाटो नजिक त्रिपालले छोपेर राखिएको फर्सीको बिउ नियन्त्रणमा लिने क्रममा केही स्थानीयले अवरोध गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। 

अवस्था नियन्त्रणमा लिन प्रहरी टोलीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको थियो। पछि इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको टोलीले थप दुई राउण्ड अश्रुग्यास फायर गरेको जनाएको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक वसन्त गौतमको कमाण्डमा ५४ जना तथा सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा २० जनाको टोली घटनास्थलमा परिचालन गरिएको थियो। हाल उक्त क्षेत्रको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

झडपमा बौधीमाई नगरपालिका–७ निवासी ४० वर्षीया सुदामा देवी राय, ४० वर्षीया हिरा मोतिया देवी यादव र ४५ वर्षीय जयलाल ठाकुर हजाम घाइते भएका छन्। उनीहरूको चन्द्र ज्योति कान्ति अस्पताल, बंकुलमा उपचार भइरहेको छ। 

यस्तै, प्रहरीतर्फ प्रहरी वरिष्ठ हवल्दार गजेन्द्र यादव, प्रहरी सहायक हवल्दार सम्झना चौधरी र प्रहरी सहायक हवल्दार देवराज महतो घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको र उपचारपछि कार्यालय फर्किएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट ३२२ बोरा फर्सीको बियाँ बरामद गरेको छ। प्रत्येक बोरामा ४० किलोग्रामका दरले जम्मा १२ हजार ८८० किलोग्राम बिउ रहेको छ।  बरामद बिउको प्रति बोरा मूल्य २८ हजार रुपैयाँका दरले कुल अनुमानित मूल्य ९० लाख १६ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार