२०८३ जेष्ठ २९ गते , शुक्रबार

अनधिकृत संरचनाविरुद्ध बिर्तामोड नगरपालिकाको एक्सन, ३५ दिनपछि डोजर चलाइने

sajilo news
झापा
२०८३ जेष्ठ २७ गते , बुधबार
अनधिकृत संरचनाविरुद्ध बिर्तामोड नगरपालिकाको एक्सन, ३५ दिनपछि डोजर चलाइने

बिर्तामोड । बिर्तामोड नगरपालिकाले सडकको क्षेत्राधिकारभित्र पर्ने अनधिकृत संरचनाहरू ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ । नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको अवधिभित्र संरचना हटाउन भनेको हो ।

नगरपालिकाको सूचना अनुसार नहटाए कानुन बमोजिम भत्काइने र त्यसको खर्च समेत सम्बन्धित पक्षबाटै असुल गरिने चेतावनी दिएको छ । बुधवार बसेको नगर कार्यपालिकाको बैठकले ३५ दिनको समय दिने निर्णय गरेको थियो ।

बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाको सिमानामा पर्ने महानन्द चोकबाट मुक्तिचोक हुँदै देउनियाँसम्मको सडक खण्डमा यो अभियान चलाइनेछ । गत बैशाख १६ गतेको बैठकबाट सडकको क्षेत्राधिकारभित्रका अनाधिकृत संरचना हटाउन प्राविधिकहरूले रेखाङ्कन गरेका थिए । सो रेखाङ्कनका आधारमा संरचनाहरू हटाई सडक खाली गर्न भनिएको हो ।

यसअघि कार्यपालिका बोर्डको जेठ १६ गतेको बैठकले सडक विभागको समन्वयमा प्राविधिक टोली खटाउने निर्णय गरेको थियो । उक्त प्राविधिक टोलीले सडकको केन्द्र भागबाट दुवैतर्फ १५-१५ मिटरको क्षेत्राधिकारभित्र पर्ने जग्गाको नापजाँच गरी रेखाङ्कन गर्ने कार्य सम्पन्न गरिसकेको छ ।

नगरपालिकाले गरेको रेखाङ्कनका आधारमा सडकको क्षेत्राधिकारभित्र पर्ने सम्पूर्ण संरचनाहरू ३५ दिनभित्र हटाई सडक क्षेत्र खाली गरिसक्नुपर्नेछ । तोकिएको अवधिभित्र संरचनाहरू स्वतः स्फूर्त रूपमा नहटाएमा नगरपालिकाले कानुनी प्रक्रिया अपनाएर ती संरचनाहरू आफैँ हटाउने सूचनामा उल्लेख छ । यसरी संरचना हटाउँदा लाग्ने सम्पूर्ण खर्च रकम सम्बन्धित घर वा जग्गाधनी (सम्बन्धित पक्ष) बाटै असुलउपर गरिने सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचार