प्रहरीको ब्युरो भन्दै लुटपाट गर्ने दुईजना झापाबाट पक्राउ
झापामा नेपाल प्रहरीको ब्युरोमा कार्यरत प्रहरी कर्मचारी भएको धम्क्याउँदै लुटपाटमा संलग्न दुई जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका-६ साठीविगाहबाट पक्राउ पर्नेहरूमा सोही ठाउँका ३३ वर्षीय प्रह्लाद कार्की र मेचीनगर-६ पालिया खोलाका २३ वर्षीय विशाल बास्कोटा रहेका छन् ।
पक्राउ परेका उनीहरूले आफूहरू नेपाल प्रहरीको ब्युरोबाट आएको भन्दै सर्वसाधारणलाई डर त्रास देखाई नगद तथा विभिन्न सामान लुटपाट गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले विशेष अभियान सञ्चालन गरी उनीहरूलाई सोमबार साँझ साढे ५ बजेतिर पक्राउ गरेको हो ।
हिरासतमा राख्ने क्रममा उनीहरूको साथबाट प्लास्टिकसहित एक ग्राम नौ सय पचास मिलिग्राम (प्लास्टिकबाहेक एक ग्राम नौ सय दश मिलिग्राम) ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैमाथि ठगी तथा लुटपाटसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।