२०८३ जेष्ठ २५ गते , सोमबार

झापामा लागूऔषधको कारोबार गर्ने चारजना पक्राउ

sajilo news
झापा
२०८३ जेष्ठ २५ गते , सोमबार
झापामा लागूऔषधको कारोबार गर्ने चारजना पक्राउ

लागूऔषधको कारोबार गर्ने बिर्तामोडका दुईसहित चार जना पक्राउ परेका छन् । गएराति ९ बजे बिर्तामोड-६ न्यूटन्स अङ्ग्रेजी स्कुलनजिक बस्ने २८ वर्षीय राजु राजवंशीको घरमा लागू औषधको कारोबार भइरहेको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमनिबाट प्रहरी टोली खटिएको थियो । टोलीले खानतलासी गर्दा उनको कोठाबाट प्लास्टिकबाहेक ३ ग्राम ब्राउन सुगर फेला पारेको थियो । लागू औषधसहित सोही ठाउँ बस्ने ३० वर्षीय विक्रम भन्ने अभिनाश चौधरी समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इप्रका अनारमनीमा राखिएको छ ।

त्यस्तै आज बिहान १० बजे दमक ६ दमक नगरपालिकाको कार्यालय अगाडी लागूऔषध बेचबिखन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इप्रका दमकबाट खटिएको प्रहरी टोलीले पाँचथर फाल्गुनन्द ७ बस्ने २५ वर्षीय सुजन नेम्वाङलाई पक्राउ गरेको छ । उनले लगाएको पाइन्टको बायाँ साइडको गोजीमा प्लास्टिकमा पोका पारी लुकाई छिपाई राखेको प्लास्टिकबाहेक ४ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इप्रका दमकमा ल्याई थप अनुसन्धान भइरहेको छ ।

त्यस्तै हिजो साँझ ५ः३० बजे झापा गाउँपालिका- ४ सुकुम्वासी बस्तीमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका गौरीगंज-१ रंगियाथान बस्ने २० वर्षीय जीवन राजवंशीलाई पक्राउ गरेको छ । उनले साइकलको ह्यान्डलमा कालो प्लास्टिकले पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको प्लास्टिकबाहेक १ ग्राम ५७ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई साइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धानको जिल्ला प्रहरी कार्यालय झापामा ल्याइएको छ ।

सम्बन्धित समाचार